© 2026
भैरहवा ।
रुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय टोलीले मंगलबार बिहान ७ बजे चेकजाँच गर्दा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका गाडीका पार्टपुर्जा फेला पारेको थियो ।
त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको यूपी ७८ डियू ४५५० नम्बरको कारसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरिक्षक गोपीकृष्ण भट्टराईले जनाए । उक्त कारको अनुमानित मूल्य २५ लाख रुपैयाँ रहेको छ ।
बरामद गाडीका पार्टपुर्जा र ढुवानीमा प्रयोग भएको कारसहित कुल २७ लाख १८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो । बरामद सामान तथा कार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको र फरार कार चालकको खोजी जारी रहेको भट्टराईले बताए ।