© 2026
बुटवल । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक एआईजीको एक पद डेढ महिनादेखि रिक्त रहेको छ। तत्कालीन एआईजी वंशीराज दाहाललाई सरकारले आचरणविपरीत कार्य गरेको आरोपमा गत असोज २३ गते बर्खास्त गरेपछि उक्त पद रिक्त भएको हो। दाहाललाई बर्खास्त गर्ने गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि उनले अहिलेसम्म अपिल गरेका छैनन्। सरकारले भने रिक्त एआईजी पदमा बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
एआईजी बढुवाका लागि सशस्त्र प्रहरीका तीन जना डीआईजी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। सुरेशकुमार श्रेष्ठ, दिपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवाका प्रमुख दाबेदार हुन्। उनीहरू तीनै जना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका अधिकारी हुन्।यीमध्ये अन्जनीकुमार पोखरेल यसअघि नै एआईजीमा बढुवा भइसकेका छन्। पोखरेलसँगै २०७९ फागुनको पहिलो साता डीआईजीमा बढुवा भएका अधिकारीमध्येबाटै अब एआईजी चयन हुने सम्भावना छ।
त्यतिबेला चार जना एकैपटक डीआईजी बनेका थिए। दोस्रो वरियतामा रहेका पोखरेल एआईजीमा बढुवा हुँदा पहिलो वरियतामा रहेका सुरेशकुमार श्रेष्ठ भने छुटेका थिए। यसपटक श्रेष्ठसँगै डीआईजीको दोस्रो वरियतामा रहेका दिपेन्द्र शाह र तेस्रो वरियतामा रहेका पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। सशस्त्र प्रहरी बलमा एआईजीका तीन दरबन्दी छन्। दाहाल बर्खास्त भएपछि सीमा सुरक्षा विभागको नेतृत्व रिक्त छ। उक्त विभागमा अहिले डीआईजी श्रेष्ठ कार्यरत छन्। शाह इन्टेलिजेन्स ब्युरो प्रमुख र थापा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत छन्। यही ब्याचका दिपक अधिकारी, मनिस थापा र कृष्ण ढकाल पनि डीआईजी भइसकेका छन्। तर उनीहरू श्रेष्ठ, शाह र थापाभन्दा पछि बढुवा भएकाले तत्काल एआईजी बन्ने सम्भावना कम देखिएको छ।
आईजीपी बन्ने दौडमा पोखरेलसँग पनि प्रतिस्पर्धा
एआईजी बढुवाको यो प्रतिस्पर्धा संगठनको भावी नेतृत्वसँग समेत जोडिएको छ। हालका सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० नारायणदत्त पौडेल २०८४ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। त्यसपछि एआईजी गणेश ठाडा मगर आईजीपी बन्ने सम्भावना रहेको छ। उनी २०८२ जेठमा एआईजीमा बढुवा भएका थिए। २०८४ चैतमा आईजीपी बनेमा उनले करिब १५ महिना संगठनको नेतृत्व गर्नेछन्। त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन्।
गणेश ठाडा मगरपछि संगठनको नेतृत्वका लागि अन्जनीकुमार पोखरेल र अहिले एआईजीमा बढुवा हुने अधिकारीबीच प्रतिस्पर्धा हुने देखिन्छ। पोखरेल गत जेठमा एआईजीमा बढुवा भएका हुन्। उनी अहिले मानव स्रोत विभागमा कार्यरत छन्। यसपटक बढुवा हुने अधिकारीमध्येबाटै सशस्त्र प्रहरी बलमा भर्ना भएर संगठनको नेतृत्व गर्ने पहिलो आईजीपी बन्ने अवसरसमेत खुल्न सक्नेछ। अहिलेसम्म सशस्त्र प्रहरी बलको नेतृत्व नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूले गर्दै आएका छन्।
तत्कालीन एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न सरकारले अन्जनीकुमार पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो। प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग दाहालले संवाद गरेको र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी कार्यालयमै पुगेर भेट गरेको विषय सार्वजनिक भएपछि उनीमाथि छानबिन अघि बढाइएको थियो।
पोखरेल नेतृत्वको समितिले दाहालले आचरणविपरीत कार्य गरेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो। एआईजीको चारवर्षे पदावधि पूरा भएपछि थप एक वर्ष म्याद थप्ने तयारी भइरहेका बेला दाहाललाई पदावधि थप गर्नुको सट्टा बर्खास्त गरिएको थियो। त्यसयता रिक्त रहेको एआईजी पदमा कसले बाजी मार्छ भन्ने विषय सशस्त्र प्रहरी संगठनभित्र चासोको विषय बनेको छ।