Butwal Today

थारु समुदायका सवालमा बरघरहरूको मन्थन

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

चन्द्रौटा ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा थारु बरघर संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले थारु समुदायको समग्र उत्थानका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका(४ मा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले थारु समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न शिक्षा र चेतनालाई प्राथमिकता दिनुपर्ने बताए । समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै समयअनुसार सकारात्मक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

बरघर प्रथा थारु समुदायको मौलिक पहिचान र सामूहिक नेतृत्वको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले यसको संरक्षण र पुस्तान्तरणमा सबैले ध्यान दिनुपर्ने बताए । बालविवाह, सामाजिक विभेद तथा अन्य कुरीति अन्त्यका लागि बरघर, युवा, महिला, अभिभावक र समुदायका अगुवाहरू एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

यसैबीच थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष पवनकुमार थारुले समुदायको विकासका लागि सरकारी प्रयाससँगै स्थानीयस्तरबाट पनि पहल आवश्यक रहेको बताए । थारु समुदायको अधिकार, पहिचान र समृद्धिका लागि सामूहिक एकता र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

पूर्वमुख्यमन्त्री चौधरीसहित जर्मनीबाट आएको एक टोलीले कपिलवस्तुका विभिन्न स्थानका दर्जनौँ बरघर तथा समुदायका अगुवाहरूसँग अन्तरक्रिया गरिएको जनाइएको छ । थारु समुदायको परम्परागत बरघर प्रथाको संरक्षण, सामुदायिक समस्या, समुदायको सशक्तीकरण, बालविवाह न्यूनीकरणलगायत समसामयिक विषयमा छलफल गरिएको हो । अन्तरक्रियामा थारु बरघर संघका केन्द्रीय सदस्य आशाराम थारु लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?