© 2026
बुटवल ।
बुटवल गोरुसिङ्गे सडक स्तरोन्नतीको काममा भैरहेको ढिलाईका बीच सालझण्डीदेखि पिपरा क्षेत्रमा पिचको काम सुरु गर्ने तयारी भैरहेको छ । नेपालीको चाड दसैं, तिहार र छठका कारण काममा केही ढिलाई भएपनि अव सो क्षेत्रमा पिच गर्ने गरि ्तयारीको काम भैरहेको छ ।
सडक आयोजनाका अनुसार बुटवल गोरुसिङ्गे सडक स्तरोन्नतीको काम सम्झौता अनुसार हुने हो भने २०८४ कात्तिक ३ गतेभित्रै सम्पन्न हुनुपर्छ । तर, यो सडक निर्माण सुरु भएको दुई बर्ष पूरा हुँदा जम्मा ३० प्रतिशतमात्रै भौतिक प्रगति छ ।
अव बाँकी ७० प्रतिशत स्तरोन्नतीको काम अवको एक बर्षभित्रैमा सम्पन्न हुने कुरामा आशंका थपिएको छ । यो सडक स्तरोन्नतीको काम २०८१ कात्तिक ४ गते सुरु भएको थियो ।
बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालयले चाडपर्व परेकोले निर्माणको काममा ढिलाई भएको जनाएको छ ।
निर्माणमा भएको ढिलाईले यो सडक निर्धारित मितिमा सम्पन्न हुनेमा आशंका बढेको छ । बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले अहिले दसैं तिहारको लागि कामदारहरु छुट्टीमा गएकोले पनि अहिले निर्माणको काममा ढिलाई देखिएको जनाएको छ ।यो सडकमा गत बर्ष दैनिक आठसय श्रमिकले काम गर्दै आएकोमा अहिले भने दैनिक २ सय कर्मचारीमात्रै कार्यरत छन् ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई काम गरिरहेका छन् ।
बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका सूचना अधिकारी अशोक पौडेलले यो सडक २०८४ कात्तिक ३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
उनले गत बर्ष माटोको अभावका कारण काममा केही ढिलाई भएको अव यो बर्षको सिजनमा माटोसहित नदीजन्य पदार्थको समस्या नभए निर्धारित मितिमै नभएपनि केही महिना बिलम्ब गरेर सम्पन्न हुने आशा रहेको बताए ।
सडक विस्तारलाई ५० किलोमिटर दूरीमा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझण्डी (२५ किमी) लट–१ र कपिलवस्तुतर्फ गोरूसिङ्गेसम्म (२५ किमी) लट–२ अन्तर्गत काम भइरहेको छ । लट–१ को लागत सात अर्ब ८९ करोड रुपियाँ र लट–२ को पाँच अर्ब ६६ करोड रुपियाँ छ ।
गत बर्ष सडक आयोजना अन्तरगत बुटवल खण्ड र कपिलवस्तु खण्डको केही भागमा पिचको काम सुरु गर्ने निर्माण कम्पनीले तयारी गरेपनि मध्यपूर्वमा भएको द्वन्द्वका कारण बिटुमिन अभाव भएपछि पिचको काम त्यत्तिकै रोकिएको थियो ।
सडक स्तरोन्नतीपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र वन क्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुनेछ ।
सडकलाई आधुनिक र सुरक्षित बनाउन फ्लाइओभर, अण्डरपास, आकासे पुल तथा वन्यजन्तु क्रसिङ निर्माणको काम भइरहेको छ ।