Butwal Today

‘राष्ट्रिय जागरण अभियान–२०८३’ उद्घाटन, राष्ट्रिय एकता र सहकार्यका लागि आह्वान

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाले ‘राष्ट्रिय जागरण अभियान–२०८३’ को औपचारिक उद्घाटन गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरेका हुन्। कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण तथा जनजीविकाका समस्या समाधानमा जोड दिइने पार्टीले जनाएको छ।

अभियानको उद्घाटनसँगै संयोजक प्रचण्डले जारी गरेको अपिलमा देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गरिएको छ। महँगी, बेरोजगारी, युवा पलायन, भ्रष्टाचार र आर्थिक असुरक्षाले जनजीवन प्रभावित भएको भन्दै पार्टीले जनताका समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाएको छ। अपिलमा पार्टीले विगतका आफ्ना कामको समीक्षा गर्दै कमजोरीप्रति आत्मालोचित हुने र जनताको विश्वास बलियो बनाउन आवश्यक रहेको स्वीकार गरेको छ। जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको तथा जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको यथार्थलाई आत्मसात् गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

जनताका घरदैलोसम्म पुग्ने अभियान , सरकारको कार्यशैलीप्रति प्रश्न

नेकपाले अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, श्रमजीवी, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, शिक्षक, कर्मचारी, बुद्धिजीवी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने जनाएको छ।पार्टीले जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने तथा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी र श्रमिकका समस्या एवं वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्ने अपिलमा उल्लेख गरेको छ।

जनताबाट प्राप्त समस्या स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसम्म पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने पार्टीको योजना छ। प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्यास अघि बढाइने पनि जनाइएको छ।

प्रचण्डद्वारा जारी अपिलमा ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसकेको उल्लेख छ। यसले जनतामा निराशा, असन्तुष्टि र अन्योल बढाएको पार्टीको भनाइ छ। अपिलमा फरक मतप्रति असहिष्णु व्यवहार, अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने प्रवृत्ति तथा लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप भएको आरोपसमेत लगाइएको छ। नयाँ र पुरानाबीच कृत्रिम विभाजन सिर्जना गरी सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको नेकपाको दाबी छ। पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा संविधानको संरक्षणलाई अभियानको महत्त्वपूर्ण पक्ष बनाएको छ।

नेकपाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौतीप्रति सचेत हुनुपर्ने जनाएको छ। राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्दै आर्थिक परनिर्भरता घटाउने र राष्ट्रिय उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
सबै मित्रराष्ट्रसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्ने उल्लेख गर्दै पार्टीले राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको जनाएको छ।

विपद् प्रभावितको उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण

अपिलमा देशका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको भनिएको लापरबाहीप्रति पनि पार्टीले आपत्ति जनाएको छ।
विपद्का बेला नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धारमा उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न सरकारसँग माग गरिएको छ।

आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक तथा अन्य सहयोग समयमै उपयोग गर्नुपर्ने उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत, विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त सडक, खानेपानी, पुल, सञ्चार तथा विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रको क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका काम पारदर्शी, प्रभावकारी र समयबद्ध रूपमा अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

समाजवाद निर्माणलाई दीर्घकालीन लक्ष्य

नेकपाले देश र जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ।अपिलमा समाजवादलाई केवल नाराका रूपमा नभई आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका रूपमा व्याख्या गरिएको छ।

नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य निर्माणको संकल्प कार्यान्वयन गर्न उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्ने पार्टीको भनाइ छ। अभियानसँगै पार्टीका जिल्ला, पालिका, वडा तथा टोलस्तरका संगठनले स्थानीय विशेषताअनुसार श्रम र उत्पादनमार्फत जनतासँग जोडिने तथा सामूहिकताको अभ्यासलाई प्राथमिकता दिनुपर्ने अपिलमा उल्लेख छ।

पार्टी रूपान्तरण र संगठन सुदृढीकरण

अभियानलाई पार्टीको संगठनात्मक सुदृढीकरण र आन्तरिक रूपान्तरणको अवसरका रूपमा अघि बढाइने नेकपाले जनाएको छ।सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने तथा पार्टी र जनसंगठनका बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्ने योजना बनाइएको छ।पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनबीच समन्वय सुदृढ गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालन गरिने अपिलमा उल्लेख छ। पार्टीका नेता तथा कार्यकर्तालाई जनताबीच विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचना स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन पनि आग्रह गरिएको छ। जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्ने मान्यतामा पार्टी दृढ रहेको प्रचण्डले अपिलमार्फत बताएका छन्।

राष्ट्रिय एकता र सहकार्यका लागि आह्वान

अभियानका क्रममा नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्य गर्न नेकपाले आह्वान गरेको छ। विशेषगरी किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदाय तथा देश–विदेशमा रहेका नेपालीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ। पार्टीले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको संरक्षण, महँगी तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने, विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिने तथा उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानका प्रमुख सन्देशका रूपमा अघि सारेको छ।

राष्ट्रिय जागरण अभियान–२०८३ सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीको अपिलको पूर्णपाठ

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ। ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ। महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ। किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्।

अर्कोतर्फ, हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था छ। अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको छ।

नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। यसले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा उपरोक्त ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न भएको छ। यस्तो परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरेको छ।

शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा राष्ट्रिय एकता र लोकतान्त्रिक निकासका लागि पार्टीले निर्वाह गरेका भूमिकाको समीक्षा गर्दै हामी विगतका उपलब्धिप्रति गर्व गर्छौँ। साथै, आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो। सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौँ।

यसअघि विभिन्न जनअभियानमार्फत हामीले विभिन्न भूगोल, समुदाय र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरेका थियौँ। ती अनुभवबाट सिक्दै अहिलेको बदलिँदो परिस्थितिमा जनतासँगको सम्बन्धलाई अझ व्यापक, व्यवस्थित र परिणाममुखी बनाउनु आवश्यक भएको छ। कम्युनिस्ट पार्टीको आधार किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको र जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ। जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ।

यिनै आवश्यकता र जिम्मेवारीबोधका साथ नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियान संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासम्बन्धी समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिँदैछ।

हामी अभियानमार्फत पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ। किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेछौँ। जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ।

महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ। यसैगरी, देशका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। साथै, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौँ। विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो। त्यसैले, बेपत्ता नागरिकको खोज तथा उद्धारमा कुनै पनि प्रकारको ढिलासुस्ती नगरी उपलब्ध सम्पूर्ण स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गरिनुपर्छ।

आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक तथा अन्य सहयोग समयमै स्वीकार गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने थियो। यस्तो सहयोगको समयमै उपयोग हुन सकेको भए थप नागरिकको जीवन जोगाउन सकिने सम्भावना रहन्थ्यो। अझै पनि नागरिक बेपत्ता रहनु र खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसक्नु अत्यन्त दुःखद र गम्भीर विषय हो।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन, विस्थापित परिवारको सुरक्षित पुनःस्थापना सुनिश्चित गर्न तथा सडक, खानेपानी, पुल, सञ्चार, विद्युत्लगायत क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। साथै, बाढीपहिरोबाट प्रभावित सबै क्षेत्रको क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई पारदर्शी, प्रभावकारी र समयबद्ध रूपमा सञ्चालन गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। साथै, बाढीपहिरोपीडितको खोज, उद्धार, राहत र अस्थायी बसोबासका लागि हाम्रो पार्टीको तर्फबाट सक्रिय रूपमा सहभागी भई महत्त्वपूर्ण भूमिका खेलेको कुरा स्मरण गर्दछौँ।

जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ। जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो।

आदरणीय जनसमुदाय,

हाम्रो विश्वास छ, देश र जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव छ। समाजवाद हाम्रो लागि केवल नारा होइन, आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य हो।

नेपालको वर्तमान संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य निर्माणको संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्नु आजको आवश्यकता हो। यसका लागि उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्छ। यो अभियानका साथै नियमित रूपमा हाम्रो पार्टी पङ्क्तिले जिल्ला, पालिका, वडा, टोलबस्तीका स्थानीय विशेषताअनुसार श्रम र उत्पादनमार्फत जनतासँग जोडिने र सामूहिकताको अभ्यास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ। राष्ट्रिय स्वाधीनता र समाजवाद निर्माण एकअर्कासँग जोडिएका विषय हुन्। आर्थिक परनिर्भरता घटाउँदै राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बलियो बनाउनु, राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नु र सबै मित्रराष्ट्रसँग समानता तथा पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनु हाम्रो प्राथमिकता हुनुपर्छ।

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक छ। यस अभियानसँगै हामी आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्नेछौँ। सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्न तथा पार्टी र जनसंगठनका बैठक, भेला, प्रशिक्षण, शुभकामना आदानप्रदानलगायतका कार्यक्रम गर्न विशेष जोड दिनेछौँ। पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनबीच समन्वय सुदृढ गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालित गर्नेछौँ। पार्टीको एकता संगठनात्मक संरचनामा मात्र होइन, विचार, व्यवहार, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धतामा पनि प्रतिबिम्बित हुनुपर्छ। हामी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचनालाई स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन विशेष आग्रह गर्दछौँ। जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौँ।

अन्त्यमा, आम नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्यका लागि हार्दिक आह्वान गर्दछौँ। विशेषगरी किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदाय तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गर्दछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?