Butwal Today

कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने क्रम जारी

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौं । आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउन तथा मान्यजनबाट आशीर्वाद लिन जाने क्रम जारी रहेको छ। विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म विधिपूर्वक पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्रै दुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन शास्त्रीय रूपमा कुनै बाधा छैन।

दसैँका कारण केही दिन सुनसान बनेको राजधानी काठमाडौंमा आज बिहानदेखि चहलपहल बढ्न थालेको छ। मानिसहरूको आवागमन बढे पनि सवारीसाधनको संख्या कम हुँदा यात्रा सहज हुन सकेको छैन। सार्वजनिक यातायातमा भीड बढ्नुका साथै टीका थाप्न र आशीर्वाद लिन जानेहरूको चहलपहल बजारमा हिजोको तुलनामा बढी देखिएको छ। यस वर्ष कात्तिक ८ गते आइतबार अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?