© 2026
बर्दघाट (नवलपरासी) ।
नवलपरासी पश्चिमको बर्दघाटमा आयोजित तेस्रो नगरपालिका स्तरीय १० किलोमिटर खुला सडक दौड प्रतियोगितामा प्रतीक पुन मगर प्रथम भएका छन् । शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दूरी ३५ मिनेट ३० सेकेन्डमा पार गर्दै पुन मगरले उपाधि जितेका हुन् ।
प्रगतिशील युवा क्लब बर्दघाट–१०, भुताहात चापीको आयोजनामा तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सुवन पुन मगर ३७ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने नवीन लाम्टारा मगरले ३९ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।
बिहान ७ बजे बर्दघाट–१० स्थित ५२ घोला सिमसारबाट सुरु भएको दौड वडा नं. १० का विभिन्न स्थानको परिक्रमा गर्दै ज्ञानज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा पुगेर समापन भएको थियो। प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न वडा तथा स्थानबाट ३० जना धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, युवामा शारीरिक तन्दुरुस्तीप्रतिको जागरूकता अभिवृद्धि तथा धावकहरूको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
प्रगतिशील युवा क्लबले प्रतियोगिता सफल बनाउन आर्थिक सहयोग गर्ने बर्दघाट नगरपालिका, अतिथि, खेलाडी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गरेको छ । क्लबले आगामी दिनमा पनि खेलकुद गतिविधिमार्फत युवालाई सक्रिय बनाउने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाएको छ ।