Butwal Today

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : मैदान तयार, खेलको पर्खाइ

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

लमही । दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यतिबेला खेलाडी र दर्शकको चहलपहलभन्दा बढी सुनसान देखिन्छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गरिएको यो रंगशालामा आवश्यक भौतिक संरचना निर्माण भइसके पनि नियमित रूपमा प्रतियोगिता सञ्चालन हुन नसक्दा मैदानको उपयोगिता माथि प्रश्न उठ्न थालेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रंगशालाको निरीक्षण गरेपछि भने स्थानीय स्तरमा फेरि आशा जागेको छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गरेका हुन्। राजमार्गसँगै जोडिएको र लमही बजारको व्यस्त क्षेत्र नजिकै रहेको रंगशाला करोडौँ रूपैयाँको लगानीमा निर्माण गरिएको हो ।

लमही नगर विकास समिति, खेलकुद मन्त्रालय तथा प्रदेश सरकारलगायतका निकायको लगानीमा निर्माण गरिएको रंगशालामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आवश्यक भौतिक संरचना तयार भइसकेका छन्। तर संरचना तयार भए पनि नियमित खेल गतिविधि नहुँदा रंगशाला अपेक्षाकृत सुनसान छ । वर्षमा मुस्किलले एक÷दुईवटा खेल आयोजना हुने गरेको स्थानीयको भनाइ छ । बाँकी समय मैदान प्रायः खाली रहने गरेको छ। ठूलो लगानीमा निर्माण गरिएको खेल पूर्वाधार नियमित उपयोगमा आउन नसक्दा स्थानीय खेलप्रेमी तथा सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

रंगशाला निर्माणको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्नु थियो। त्यसका लागि मैदान र आवश्यक पूर्वाधार निर्माणमा राज्यको ठूलो स्रोत खर्च भएको छ। तर स्वामित्व र व्यवस्थापनको विषय टुंगोमा नपुग्दा रंगशालाको अपेक्षित उपयोग हुन सकेको छैन ।

लमही नगर विकास समितिको स्वामित्वमा रहेको करिब दुई बिघा क्षेत्रफलमा रंगशाला निर्माण गरिएको हो। निर्माण सम्पन्न भएपछि नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको थियो। तर क्यानले रंगशालाको स्वामित्व नै आफ्नो नाममा हुनुपर्ने माग राखेपछि प्रक्रिया कानुनी जटिलतामा परेको लमही नगर विकास समितिका प्रमुख तुल्सी अर्याल बताउँछन् ।

“रंगशाला क्यानलाई हस्तान्तरण गर्ने उद्देश्यसहित निर्माण गरिएको हो। तर स्वामित्वको विषयमा क्यानको माग र विद्यमान कानुनी व्यवस्थाबीच समस्या देखिएको छ,” अर्यालले भने ।
स्वामित्वको विषय टुंगो लाग्न नसक्दा रंगशालाको व्यवस्थापन, नियमित प्रतियोगिता सञ्चालन तथा थप खेल गतिविधि विस्तारमा समेत समस्या देखिएको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय खेलकुद निकायबीच समन्वय हुन नसक्दा करोडौँको लगानी भएको पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

देउखुरी क्षेत्रमा क्रिकेटको सम्भावना भने उच्च रहेको खेलप्रेमीहरू बताउँछन्। राष्ट्रिय राजमार्गसँग जोडिएको स्थान, पर्याप्त क्षेत्रफल र निर्माण भइसकेका भौतिक संरचनाका कारण रंगशालालाई नियमित प्रतियोगिता र प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको किर्केट सघका केन्द्रिय सदस्य किशोर पुन बताउछन् ।तर त्यसका लागि केवल पूर्वाधार निर्माण गरेर मात्र पुग्दैन। नियमित प्रतियोगिता, प्रशिक्षण, खेलाडी उत्पादन र व्यवस्थापनको स्पष्ट योजना आवश्यक देखिन्छ उनले भने। प्रदेशस्तरदेखि राष्ट्रियस्तरसम्मका प्रतियोगिता सञ्चालन गर्न सकेमा रंगशाला आसपासको आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय खेलाडीले समेत अवसर पाउनेछन् ।

मन्त्री पोखरेलको निरीक्षणपछि अब रंगशालाको व्यवस्थापन र सञ्चालनका विषयमा ठोस पहल हुने अपेक्षा स्थानीयको छ। वर्षौँ लगाएर निर्माण गरिएको पूर्वाधारलाई संरक्षण गर्दै नियमित खेल गतिविधिको केन्द्र बनाउन सके देउखुरीको यो रंगशाला लुम्बिनी प्रदेशकै महत्वपूर्ण क्रिकेट केन्द्र बन्न सक्छ। अहिलेको मुख्य प्रश्न भने एउटै छ ,मैदान तयार भइसक्यो, अब यहाँ नियमित खेल कहिले हुन्छ? स्थानीय खेलप्रेमीको यही प्रश्नको जवाफ खोज्दै देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुन ,खेलाडी र दर्शकले भरिने दिनको प्रतीक्षामा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?