Butwal Today

तीन घण्टी चोरीको अनुसन्धान गर्दा भेटिए ३५ थान

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुमा मन्दिरका घण्टी चोरी गरी बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले भाँडा पसलबाट साना–ठूला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको हो । शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट असोज २६ गते राति तीन वटा घण्टी चोरी भएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए । घटनामा संलग्न भएको आरोपमा शुद्धोधन–१ बगदीका १८ वर्षीय इबरार अहमद मुसलमान (खान) लाई स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकडी पठाएको थियो ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार सोधपुछका क्रममा चोरीका घण्टी शुद्धोधन–३ लवनीस्थित ऋषि भाँडा पसलमा बिक्री गरिएको पाइएको छ । प्रहरीले शुद्धोधन–२ भुसुडीका २५ वर्षीय चन्द्रप्रसाद यादव र पसल सञ्चालक दिनेश कुमार कान्दुलाई पनि नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आरोप लागेका अर्का एक जना फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?