© 2026
गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सञ्चालन गरेको सूक्ष्म स्वास्थ्य शिविरबाट पाँच सय ४४ जना नागरिक लाभान्वित भएका छन् ।
भौगोलिक विकटता र आर्थिक कठिनाइका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ग्रामीण बस्तीका बासिन्दालाई लक्षित गर्दै पालिकाले घरदैलोमै स्वास्थ्य सेवा सञ्चालन गरेको हो ।
असोज १५ देखि २४ गतेसम्म पालिकाका आठ वटै वडामा सञ्चालन गरिएको शिविरमा मेडिकल अधिकृत सहितको टोलीद्वारा स्वास्थ्य परीक्षण, आयुर्वेद सेवा, प्रयोगशाला र आँखा जाँचसँगै निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले बताए ।
शिविरमा सेवा लिनुभएकी चन्द्रकोट–६ हरेवा खादीकोटकी ८१ वर्षीय अमृता बिटालु गाउँपालिकाले घरदैलोमै आएर सेवा दिएको खुसी व्यक्त गरिन् । उनको छातीको सङ्क्रमण र पेटको समस्या रहेको थियो । “उमेर ढल्कँदै गएपछि टाढा जान पनि गाह्रो हुने, आफ्नै टोलमा डाक्टर आएर जाँच गरी सित्तैमा औषधि दिँदा हामी जस्ता बुढाबुढीलाई ठुलो कल्याण मिलेको छ,” उनले भनिन् ।
नागरिकको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउँदै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले यस अभियानलाई पालिकाले आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । उनले स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर पालिकाले बस्ती केन्द्रित अभियान सुरु गरेको बताए । “यसलाई एक पटकको कार्यक्रममा मात्र सीमित नराखी अब हरेक तीन–तीन महिनामा नियमित रूपमा यस्तै शिविर सञ्चालन गर्नेछौँ,” अध्यक्ष क्षत्रीले भने ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माले शिविरको माध्यमबाट दुर्गम बस्तीहरूमा पुगेर त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँबाट एकीकृत स्वास्थ्य सेवा दिनुका साथै जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि परामर्श समेत दिइएको जानकारी दिएका छन् ।
घर आँगनमै डाक्टर र निःशुल्क औषधिसँगै शिविर पुगेपछि स्थानीय नागरिकहरूले पनि ठुलो राहत महसुस गरेको बताइएको छ ।