© 2026
भैरहवा। नेपाल–भारत व्यापारको प्रमुख नाका भैरहवा–बेलहियामा मालवाहक सवारीको चाप अत्यधिक बढेपछि भारततर्फ करिब १४–१५ किलोमिटरसम्म लामो जाम भएको छ ।
नेपालतर्फ भैरहवा भन्सारको यार्ड भरिएपछि मालवाहक सवारी ६ लेनको व्यापारिक सडकसम्म रोकिएका छन् । लामो जामका कारण भारतबाट नेपाल भित्रिने मालसामानको ढुवानी समय अस्वाभाविक रूपमा बढेको छ । सामान्य अवस्थामा दुई–तीन दिनमा पूरा हुने भारत–नेपालको ढुवानी यात्रा अहिले १० देखि १५ दिनसम्म लम्बिएको व्यवसायी तथा चालकले बताएका छन् । यसबाट आयातकर्ताले डिटेनसन शुल्क तिर्नुपरेको छ भने ढुवानी लागतसमेत बढेको छ ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएर भारतका विभिन्न स्थानबाट नेपालतर्फ आएका मालवाहक सवारी लामो समय बाटोमै रोकिँदा त्यसको चाप अहिले बेलहिया नाकामा परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, दैनिक उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थ बोकेका सवारीको आवागमन बढेकाले समस्या थपिएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले सडक अवरोधका कारण रोकिएका मालवाहक सवारी अहिले क्रमशः नेपालतर्फ आइरहेको बताए । “रोकिएका गाडीहरू क्रमशः आइरहेका छन् । हामी रातिसमेत गाडी तानेर यार्डमा राखी जाँचपासको काम गरिरहेका छौँ,” उनले भने ।
उनका अनुसार शुक्रबार राति १० बजेदेखि १ बजेसम्म १५१ वटा मालवाहक सवारी भन्सार यार्डमा प्रवेश गराइएको थियो । सामान्य अवस्थामा भैरहवा भन्सारबाट दैनिक करिब ४०० मालवाहक सवारी भित्रिने–बाहिरिने गर्छन् । भन्सार कार्यालयले मालवाहक सवारीको चाप घटाउन राति १ बजेसम्म यार्डमा प्रवेश गराउने व्यवस्था गरेको जनाएको छ ।
तर चालकहरूले भने राति अबेरसम्म नाका खुला राखिए पनि नियमित जाँचपासको काम प्रभावकारी रूपमा नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार रातिको समयमा गाडी यार्डभित्र प्रवेश गराउने काम भए पनि जाँचपासको मुख्य प्रक्रिया नियमित रूपमा अघि नबढ्दा लामो समयसम्म गाडी रोकिइरहेका छन् । नेपाल भन्सार एजेन्ट सङ्घ रूपन्देहीका अध्यक्ष मधु पन्थीले भन्सार यार्डको सीमित क्षमताका कारण पनि समस्या बढेको बताए । उनका अनुसार दैनिक चारदेखि पाँच सयसम्म मालवाहक सवारी जाँचपास गर्नुपर्ने भए पनि अहिलेको यार्डमा करिब ३५० वटा मात्र अट्ने अवस्था छ ।
“दैनिक १०० देखि १५० वटासम्म गाडी यार्डबाहिरै रोकिने अवस्था छ,” उनले भने, “यार्डको क्षमता विस्तार र निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस्तो समस्या दोहोरिरहन्छ ।”
उनले जाम घटाउन बिहानैदेखि दुई सिफ्टमा प्रभावकारी रूपमा जाँचपास सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार ‘येलो लेन’ र ‘ग्रिन लेन’का गाडी छिटो जाँचपास गरी यार्ड खाली गर्न सके भारततर्फ रोकिएका थप मालवाहक सवारी नेपालतर्फ ल्याउन सकिन्छ ।
यसैबिच, भारतीय भूभागमा समेत सुनौली–नौतनवा क्षेत्रमा मालवाहक सवारी लामो समय रोकिने गरेको चालकहरूले बताएका छन् । गुजरात, राजस्थानलगायत भारतका विभिन्न राज्यबाट नेपालका लागि खाद्यान्न तथा औद्योगिक कच्चा पदार्थ बोकेर आएका चालकहरूले सामान्य अवस्थामा दुई–तीन दिनमा पूरा हुने यात्रा अहिले १०–१५ दिनसम्म लम्बिएको बताएका छन् ।
केही चालकले भारतीय सुरक्षाकर्मीले गाडी अगाडि बढाउने नाममा रकम माग्ने गरेको आरोपसमेत लगाएका छन् । उनीहरूका अनुसार रकम नदिने गाडी लामो समय लाइनमै रोकिँदा यात्रा थप लम्बिने गरेको छ । प्रतिगाडी दुई हजार भारतीय रूपैयाँसम्म मागिने गरेको आरोपसमेत चालकहरूले लगाएका छन् । उक्त आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
लामो जामका कारण चालकको दैनिकीसमेत कष्टकर बनेको छ । पार्किङ, खानेपानी र शौचालयको पर्याप्त व्यवस्था नहुँदा चालकहरू सडकछेउमै खाना पकाएर खाने र त्यहीँ रात बिताउने गरेका छन् । लामो समय गाडीमै बस्नुपर्दा स्वास्थ्य तथा सुरक्षाको समस्या पनि बढेको उनीहरूको गुनासो छ ।
बेलहिया नाकामा देखिएको जामले सीमा व्यापारको लागत र आपूर्ति व्यवस्थामै असर पार्न थालेको व्यवसायीहरूको भनाइ छ । लामो समय गाडी रोकिँदा डिटेनसन शुल्क बढ्ने, कच्चा पदार्थ उद्योगमा समयमा नपुग्ने र उत्पादन लागत बढ्ने अवस्था आएको उनीहरू बताउँछन् ।
चाडपर्वको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको माग बढिरहेका बेला सीमा नाकाको अवरोध लामो समय कायम रहे बजारमा आपूर्ति प्रभावित हुन सक्ने व्यवसायीहरूको चिन्ता छ ।
उनीहरूले जाम तत्काल हटाउन नेपाल र भारतका भन्सार प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबिच संयुक्त समन्वय आवश्यक रहेको बताएका छन्