© 2026
काठमान्डौँ ।
दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था अवलोकन गर्न काठमाडौंँबाट प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा टोली बिहीबार बेलुका कैलालीको धनगढी पुगेको हो । टोलीले शुक्रवार कञ्चनपुरको दोधारा–चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।
उपमहानिर्देशक अधिकारीले आफूहरूले नै निर्माण गरेको उक्त ‘आइकोनिक’ पुलको अवस्था निरीक्षण गरेर आवश्यक निर्णय लिइने बताए ।
पुलमा क्षति पुगेकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला दोधारा–चाँदनी पुगेर प्राविधिक अध्ययनको प्रक्रिया अघि बढाइएको र अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले बिहीबार नै गृह मन्त्रालयलाई पत्राचार गर्दै पुल मर्मतका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् ।
गत बुधवार महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुलको एक भाग चुँडिएर नदीमा लत्रिएको थियो । त्यसयता पुलबाट आवतजावत बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार पुल चुँडिएर नदीमा झरेको स्थानमा पानीको बहावसमेत तीव्र देखिएको छ ।