© 2026
काठमान्डौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाइएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिए ।
२०८३ असारभित्रै बस्नुपर्ने त्रिवि सभा बैठक अहिलेसम्म बस्न सकेको थिएन । बैठक नबस्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अगाडि बढ्न नसकी अन्योल सिर्जना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताए ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद १७ मा सभाको वार्षिक दिवस बैठक तथा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिनअघि सूचना, कार्यसूची र प्रस्तावहरू सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, असोज २२ गतेका लागि तय गरिएको त्रिवि सभा बैठकबारे हालसम्म सदस्यहरूलाई औपचारिक जानकारीसमेत नगराइएको जोशीको भनाइ छ ।
विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको वर्षौँको अध्ययन, परिश्रम र शैक्षिक यात्रासँग जोडिएको महत्त्वपूर्ण प्रक्रिया हो । विद्यार्थीले आफ्नो मेहनतबाट हासिल गरेको उपाधि औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयलाई हल्का रूपमा लिँदै नियमित प्रक्रिया छलेर अगाडि बढाउन खोज्नुले प्राज्ञिक थलोको मर्यादामाथि प्रश्न उठाएको जोशीले उल्लेख गरे ।