Butwal Today

प्रधानमन्त्री लक्षित रास्वपा महामन्त्रीको टिप्पणी : ‘म पनि एक्स्ट्रा अर्डिनरी बन्ने प्रयासमा छु’

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले आफू ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयास गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छन् । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु,’ उनले भने ।

आचार्यले यहाँ प्रधानमन्त्री बालेन शाहको नाम भने लिएनन् । तर, बुधबार मात्रै प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ सांसदको संज्ञा दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद सहभागी थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू थिए ।

छलफलको सुरुवातमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री शाहले सांसदहरूले उठाउने विषयका आधारमा उनीहरूको प्रस्तुतिबारे व्याख्या गरेका थिए । उनले अभिव्यक्तिका दृष्टिले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन स्वरूपमा वर्गीकरण गरेका थिए ।

इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहले ‘एक्स्ट्रा अर्डिनरी’ सांसदका रूपमा प्रस्तुत गरेका थिए ।

‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन् । त्योभन्दा तलकाले मलाई यो गर, त्यो गर भन्छन् । एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ । तपाईंहरूको आइडियाले देश बन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले अनलाइनखबरसँग बताएका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औद्योगिकीकरणमा के गर्ने भनेर आइडिया दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आग्रह गरेका थिए ।

साथै, कुनै आइडिया भए सिधै प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्न सकिने र आइडिया लिएर आउने व्यक्तिसँग सहजै भेट्ने आश्वासन पनि उनले सांसदहरूलाई दिएका थिए ।

यही पृष्ठभूमिमा रास्वपाका महामन्त्री आचार्यले प्रधानमन्त्री शाहको नाम नलिई आफू औसत क्षमताको इन्जिनियर भएको र ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयास गरिरहेको बताएका हुन् ।

त्यसपछि आचार्यले नेपाली मुद्राको विषय उठाए ।

‘संसारका जति पनि पावरफुल मुद्रा छन्, डलर, युरो, पाउन्ड अथवा जापानिज येन, छिमेकी राष्ट्र चीनको युआन र भारतको भारुको पनि आफ्नै सिम्बोल छन्,’ उनले भने ।

ग्लोबल फिनटेकको युगमा नेपालको पनि आफ्नै मुद्राको प्रतीक (सिम्बोल) भए त्यसले धेरै सहज हुने उनले बताए ।

देवनागरीको मौलिकता र राष्ट्रको स्वाभिमान झल्किने मुद्राको प्रतीक निर्माण गर्न उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?