Butwal Today

विद्युत अवरुद्ध, क्षति विवरण संकलनमै कठिनाइ

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

रोल्पा । रोल्पामा लगातार चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाह, सञ्चार, शिक्षा, व्यवसाय तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । गत १० गते आएको ठूलो हावाहुरीका कारण विद्युतका पोल तथा तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

सदरमुकाम लिबाङसहित केही स्थानीय तहमा विद्युत् सेवा आंशिक रूपमा सञ्चालनमा आए पनि जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै समस्या कायमै रहेको स्थानीयले बताएका छन् ।
हावाहुरीका कारण विद्युत्का पोल ढल्नुका साथै रुख तथा हाँगाहरू विद्युत् लाइनमा खस्दा कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमका अनुसार हावाहुरीका कारण जिल्लाका सबैजसो स्थानीय तहमा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष तथा अन्य जिम्मेवार व्यक्तिहरूसँग समेत फोन सम्पर्क हुन नसक्दा सूचना संकलनमा समस्या भएको उनले बताएका छन् ।

रोल्पाका १० स्थानीय तहमध्ये हालसम्म एउटा पालिकाबाट मात्र क्षतिको विवरण प्राप्त भएको बताएका छन् । थबाङ गाउँपालिका–४ र ५ मा मात्रै ४० भन्दा बढी घरका जस्तापाता हावाहुरीले उडाएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् । दुर्गम क्षेत्रमा रहेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनसमेत यातायात, विद्युत् तथा सञ्चारको समस्याले कठिनाइ भइरहेको उनको भनाइ छ ।

परिवर्तन गाउँपालिका–३ का अमित बुढामगरले हावाहुरीबाट प्रभावित आफन्त तथा स्थानीयसँग समेत फोन सम्पर्क गर्न कठिनाइ भइरहेको बताएका छन् । सञ्चार सेवा नियमित नहुँदा कुन ठाउँमा कति क्षति भएको छ भन्ने विवरण संकलन गर्न समस्या भइरहेको उनले बताएका छन् ।

उनका अनुसार स्थानीय सरकारले सबै पक्षसँग समन्वय गरी क्षतिको वास्तविक विवरण संकलन गर्नुपर्ने अवस्था छ । सम्बन्धित निकायसँग पहल गरेर दुर्गम क्षेत्रमा रहेका पीडित परिवारलाई राहत पु¥याउन वैकल्पिक माध्यम अपनाउनुपर्ने उनले बताएका छन् ।

“कुन ठाउँमा कस्तो क्षति भएको छ भन्ने कुरा नै फोन सम्पर्क नहुँदा तत्काल थाहा पाउन सकिएको छैन । स्थानीय सरकार र समुदाय मिलेर विवरण संकलन गरी सम्बन्धित निकायसम्म पु¥याउनुपर्ने अवस्था छ,” उनले बताएका छन् ।
सुनिलस्मृति गाउँपालिका–६ पातिहाल्नाका तेजराज भण्डारीले राहतका लागि संकलन गरिएका सामग्रीसमेत समयमै प्रभावित क्षेत्रमा पु¥याउन कठिनाइ भइरहेको बताएका छन् । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा गाउँगाउँमा रहेका पीडितको वास्तविक अवस्था पहिचान गर्न समस्या भएको उनले बताएका छन् ।

थबाङ गाउँपालिकाका स्थानीय पत्रकार गोविन्द बिकले हावाहुरीले विभिन्न स्थानमा क्षति पु¥याए पनि फोन सम्पर्क नहुँदा सबै ठाउँको वास्तविक विवरण संकलन गर्न नसकिएको बताएका छन् । उनका अनुसार विपद्का बेला सूचना प्रवाह प्रभावकारी नहुँदा पीडितको अवस्था बाहिर ल्याउनसमेत समस्या भएको छ ।

हावाहुरीले गरिब तथा विपन्न परिवारलाई थप समस्यामा पारेको उनले बताएका छन् । दैनिक छाक टार्नसमेत कठिनाइ हुने परिवारको घर नै हावाहुरीले उडाएपछि उनीहरू झनै समस्यामा परेको उनले बताएका छन् ।

पूर्वप्रहरी निरीक्षक धर्मराज भण्डारीले दुर्गम क्षेत्रबाट महँगो भाडा तिरेर सरकारी कामका लागि सदरमुकाम तथा स्थानीय तहका कार्यालयमा पुग्ने सेवाग्राहीले समयमा सेवा लिन नसकेको बताएका छन् । विद्युत् नहुँदा कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय उपकरण सञ्चालन गर्न नसक्दा सेवाग्राही काम नभएर फर्किनुपर्ने अवस्था आएको उनले बताएका छन् । यस्ता प्राविधिक समस्याका लागि सम्बन्धित निकायले पहिले नै वैकल्पिक व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।

नेपाल कपडा तथा सिलाइकटाइ महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष मनबहादुर नेपालीका अनुसार विद्युत् अभावले जिल्लाका सिलाइकटाइ व्यवसायीको काम ठप्पजस्तै भएको छ । लामो समयसम्म विद्युत् सेवा नियमित हुन नसके साना व्यवसाय तथा स्वरोजगारमा निर्भर नागरिकको आम्दानीमा असर पर्ने र बेरोजगारीको समस्या थपिन सक्ने उनले बताएका छन् ।
विद्युत् अवरोधसँगै जिल्लाका कतिपय क्षेत्रमा मोबाइल तथा दूरसञ्चार सेवा पनि प्रभावित भएको छ । रोल्पा नगरपालिका–४ का निवर्तमान अध्यक्ष नवराज आचार्यले विद्युत् नहुँदा मोबाइल फोन चार्ज गर्न नसकिने तथा कतिपय स्थानमा मोबाइल नेटवर्कसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका छन् ।

“सञ्चार सेवा प्रभावित हुँदा स्थानीय समुदाय सूचना तथा जानकारीबाट समेत प्रभावित हुन पुगेको छ । सम्बन्धित निकायले चाँडो विद्युत् सेवा सुचारु गर्न सके सञ्चार क्षेत्रसहित अन्य सबै क्षेत्रलाई नियमित अवस्थामा फर्किन सहज हुन्छ,” उनले बताएका छन् । विद्युत् मर्मतका लागि झिम्रुक विद्युत् प्राधिकरणका प्राविधिकसमेत परिचालन गरिएको उनले बताएका छन् ।

अवरोधको कारण पत्ता लगाएर मर्मत कार्य सम्पन्न गर्ने प्रयास भइरहेको र थप समस्या नदेखिए बेलुकासम्म विद्युत् सेवा सुचारु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?