© 2026
बगदाद ।
एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ । इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनीतिक तथा सुरक्षा तनाव पनि बढाएको थियो ।
सन् २०१४ मा इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए । उक्त समूहले ठूलो संख्यामा मानिसको हत्या र विभिन्न हिंसात्मक गतिविधि गरेको थियो ।
इराकमा इस्लामिक स्टेट सन् २०१७ र सिरियामा सन् २०१९ मा पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाही गर्न गठबन्धन सेना इराकमा रहँदै आएका थिए ।
इराक र अमेरिकाबीच सन् २०२४ मा गठबन्धनको सैन्य अभियान अन्त्य गर्ने सहमति भएको थियो । त्यसपछि गठबन्धनका सैनिकले देशभरका विभिन्न सैन्य आधार छाड्दै आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए । त्यहाँबाट पनि उनीहरूको अन्तिम फिर्ती बुधबार हुने तय गरिएको छ ।
इराकी सरकारले गठबन्धन सेना फिर्ता भएपछि इरानसमर्थित सशस्त्र समूहहरूले आफ्ना हतियार राखिराख्न प्रयोग गर्दै आएको कारण समाप्त हुने अपेक्षा गरेको छ ।
इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अर्थात् ८८अक्टोबर १ लाई ‘सम्प्रभुता दिवस’८८का रूपमा मनाउनुपर्ने बताए । सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले पनि गठबन्धनको फिर्तीले इराकको पूर्ण सम्प्रभुतातर्फको यात्रा अघि बढेको बताएका छन् ।
सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको विषय समाधान गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने बताउँदै आएका छन् । तर केही शक्तिशाली समूहले हतियार त्याग्न अस्वीकार गरेका छन् ।
ती समूहहरूले विदेशी सेना फिर्ता हुनुपर्ने मात्र नभई अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेप पनि अन्त्य हुनुपर्ने माग राखेका छन् । शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको सेना फिर्ता हुनु पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भएको बताएको छ । तर उसले सरकारविरुद्ध कडा चेतावनीसमेत दिएको छ ।
इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवैले एउटै शत्रुविरुद्ध लडेका थिए । तर इस्लामिक स्टेट पराजित भएपछि इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर दुवै पक्षबीच विवाद बढ्दै गएको थियो ।
इरान र उसका समर्थित समूहहरूले अमेरिकी सेनालाई हटाउन माग गर्दै ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेका थिए । त्यसको जवाफमा अमेरिकी सेनाले पनि विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही गरेको थियो ।
यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा गठबन्धन सेना फिर्ता भएपछि ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुने भन्ने विषयमा चिन्तित देखिएका छन्। गठबन्धनले यसअघि नै यसै वर्ष सिरियाबाट आफ्नो सेना फिर्ता गरिसकेको छ ।