© 2026
काठमान्डौँ ।
प्रतिनिधिसभाको बैठकमा हजार र पाँच सय रुपैयाँका नोटबन्दी गर्ने विषयले प्रवेश पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले मुलुकमा थुप्रिएको कालो धन नियन्त्रण गर्न नोटबन्दी गर्नुपर्ने माग गरेपछि सदनमा यस विषयले चर्चा पाएको हो ।
सांसद न्यौपानेले विगत ३५ वर्षदेखि सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाए । कालो धनका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको दाबी गर्दै उनले हजार र पाँच सय रुपैयाँका नोट तत्काल बन्द गर्नुपर्ने माग गरे ।
न्यौपानेको मागको जवाफ दिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्ने सरकारको कुनै पनि कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए । तर, उनले सरकारको इच्छाशक्तिमाथि प्रश्न उठाउँदै सत्तापक्षप्रति कटाक्षसमेत गरे ।
प्रमुख सचेतक दुलालले भने, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ? सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ । तैपनि सरकार किन पछाडि हटिरहेको छ ?’
बहुमतको सरकारले ठोस निर्णय लिन सके मात्र देशमा थुप्रिएको कालो धन बाहिर आउने र अर्थतन्त्रमा सुधार हुने दाबी गर्दै दुलालले सरकारलाई तत्काल निर्णय प्रक्रियामा जान आग्रह गरे ।