© 2026
बुटवल ।
तिनाउ नदीको बहाव अहिले केही सामान्य भएको छ । तर नदी किनारमा बस्दै आएका बुटवलवासीको मन भने अझै शान्त हुन सकेको छैन ।
केही दिनअघि तिनाउमा आएको भीषण बाढीले घरबस्तीमा पु¥याएको क्षति र त्यसबाट उत्पन्न त्रासले नदी किनारका बासिन्दालाई फेरि पनि बाढीको जोखिम सम्झाएको छ । बुटवल–११ पवित्रनगरका जितलाल अधिकारी तिनाउ नदी किनारमै बसेर पनि नदीको सुसाइरहेको आवाजबाट अझै त्रसित छन् । रातभरि नदीको आवाज कानमा परिरहने र बिहान आँखा खुलेपछि आफूहरू सुरक्षित रहेको महसुस हुने गरेको उनी बताउँछन् ।
“तिनाउ सुस्साइरहेको आवाज रातभरि कानमा पर्छ । बिहान उठ्दा बाँचियो जस्तो लाग्छ,” अधिकारीले भने, “यसरी नदी किनारमा बस्न थालेको पनि ३० वर्ष पुगिसकेछ ।”
वर्षौँदेखि यही ठाउँमा बस्दै आएका अधिकारीलाई बस्ती छाडेर अन्यत्र जान पनि सहज छैन । उनका छोराहरू यहीँ जन्मिएका र हुर्किएका छन् । लामो समयदेखि यहीँ बसोबास गर्दै आएकाले जोखिम भए पनि जन्मथलो र आफ्नो बसोबासको ठाउँ छाड्न मन नलागेको उनी बताउँछन् ।
बाढीबाट स्थानीयलाई जोगाउन नदी किनारका केही स्थानमा ड्याम निर्माण गरिए पनि त्यसले अपेक्षित रूपमा जोखिम कम गर्न नसकेको उनको गुनासो छ । हरेक वर्ष राज्यले नदी नियन्त्रणका नाममा करोडौँ रुपियाँ खर्च गर्ने गरे पनि त्यसको प्रभाव भने बस्तीमा देखिन नसकेको उनको भनाइ छ ।
“बाढीबाट जनतालाई दुःख नहोस् भनेर केही ठाउँमा ड्याम लगाउने काम भएको छ । तर त्यो त्यति प्रभावकारी भएको छैन,” अधिकारीले प्रश्न गरे, “हरेक वर्ष राज्यले करोडौँ रुपियाँ खोलामा लगानी गर्छ, तर त्यसको प्रभाव खोइ ? त्यो लगानी कहाँ जान्छ ?”
राज्यले हरेक वर्ष तिनाउ नदी नियन्त्रणका लागि तारजाली, रिटेनिङ वाल, कङ्क्रिट ढलान, स्लोप ढलान, त्रिखुट्टी बार, बेड वारलगायतका संरचना निर्माण गर्दै आएको छ । तर त्यस्ता संरचनाले दीर्घकालीन रूपमा नदी नियन्त्रण गर्न नसकेको स्थानीयको गुनासो छ ।
नदीलाई नजिकबाट नियाल्दै आउनुभएका अधिकारीका अनुसार तिनाउको कतिपय स्थान गहिरिएको छ भने कतिपय ठाउँमा नदीको सतह माथि उठेको छ । यसले नदीको प्राकृतिक बहावमा समेत असर परेको उनी बताउँछन् ।
“कतै नदी गहिरिएको छ, कतै उठेको छ । नदी आफ्नो ठाउँबाट बग्न छोडेको जस्तो देखिन्छ । हामीले पटकपटक कुरा राखेका छौँ, तर हाम्रो कुराको सुनुवाइ हुँदैन,” उनँले दुःख व्यक्त गरे, “अब खै कससँग गुनासो गर्ने ?”
बुटवल–११ पवित्रनगरमै २०५३ सालदेखि बस्दै आएकी बसन्ती सोमैको पीडा पनि उस्तै छ । नदीको बहाव सामान्य अवस्थामा फर्किए पनि उनको मनबाट तिनाउको त्रास हटेको छैन । “अन्त जाऊँ पनि कहाँ जाऊँ, बस्ने ठाउँ यही हो । के गर्नु, रातभरि निद्रा पर्दैन,” सोमैले भनिन् ।
तिनाउमा यसअघि पनि बाढी आउने गरेको भए पनि पछिल्लो समय आएको भोटेकोशीको बाढीपछि नदी किनारका बासिन्दामा थप त्रास पैदा भएको उनी बताउँछिन् । “यस्तो खालको बाढी अघिपछि पनि आउँथ्यो । पोहोर साल पनि यसैगरी केही दिन आएको थियो । तर अहिले भोटेकोशीको बाढी आएदेखि मन त्यसै आतिएको छ,” सोमैले भनिन् ।
दुई छोरा यहीँ बस्ने र सानोतिनो व्यापार गरेर जीवन गुजारा चलाइरहेकाले ठाउँ छाडेर अन्यत्र जान पनि नसक्ने उनको भनाइ छ । जोखिम हुँदाहुँदै पनि यही ठाउँमा जीवन बिताउन बाध्य रहेको उनी बताउँछिन् । “बाँच्न सजिलो भएको छ, तर यो खोलाको डर कहिल्यै टरेन,” उनले निराश हुँदै भनिन् ।
तिनाउ नदी किनारका बुद्धनगर, मजुवा, प्रगतिनगर, मैनाबगर, टप मजुवा, सुन्दरनगर, विनापाते, पवित्रनगर, हात्तीसुँढलगायतका बस्तीका बासिन्दाको मुख्य चिन्ता अहिले नदी बनेको छ । नदीको बहाव सामान्य देखिए पनि वर्षा हुनासाथ फेरि बाढी आउन सक्ने त्रास उनीहरूमा छ ।
असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल–११ टप मजुवामा पाँचवटा घर बगाएको थियो । थप दुईवटा घरमा पूर्ण क्षति पुगेपछि नदी किनारका स्थानीय अझै त्रसित छन् । बाढीले घरबास नै बगाएपछि विस्थापित भएका परिवारका लागि पुनःस्थापना र दीर्घकालीन सुरक्षाको प्रश्नसमेत उठेको छ ।
बाढीको जोखिम बढेपछि केही परिवारले घर छाडेर सुरक्षित स्थानमा आश्रय लिएका थिए । नदीको बहाव केही सामान्य भएपछि उनीहरू अहिले पुनः आफ्नै घर फर्किएका छन् । तर घर फर्किए पनि जोखिम भने नहटेको उनीहरूको भनाइ छ ।
घर फर्किएपछि दैनिक जीवन सामान्य बनाउन प्रयास गरिरहेका
स्थानीयलाई वर्षा हुनेबित्तिकै फेरि नदी बढ्ने चिन्ताले सताउने गरेको छ । नदी किनारमै घर भएका कारण सामान्य वर्षामा पनि रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।
बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार बाढीबाट घरबारविहीन भएका पाँच परिवारलाई उजिरसिंह माध्यमिक विद्यालयमा आश्रय दिइएको थियो । बाढीको तत्कालीन जोखिम टरेपछि उनीहरूलाई पुनः आफ्नै घरमा फर्काइएको उनले बताए ।
“सामान्य राहत र प्याकेजका कुराहरू हामीले गरेका छौँ । तर अब उहाँहरूलाई के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,” वडाध्यक्ष क्षेत्रीले भने ।
उनका अनुसार नदी किनारमा बसोबास गर्ने परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषयमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजनाबद्ध कार्यक्रम अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
तिनाउ नदीको बहाव नियन्त्रण र नदी किनारका बस्तीको संरक्षणका लागि विगतदेखि नै विभिन्न संरचना निर्माण हुँदै आएका छन् । तर हरेक वर्ष बाढीका बेला संरचनामा क्षति पुग्ने र नदीको बहाव बस्ती तथा खेतीयोग्य जमिनतर्फ पस्ने समस्या दोहोरिँदै आएको स्थानीय बताउँछन् । उनीहरूका अनुसार तत्कालीन जोखिम घटाउने संरचनासँगै नदीको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।
स्थानीय बासिन्दाले नदी नियन्त्रणका नाममा गरिने खर्च र निर्माण गरिएका संरचनाको प्रभावकारिता नियमित रूपमा अनुगमन गर्नुपर्ने मागसमेत गरेका छन् । नदीको प्राकृतिक बहाव अवरुद्ध हुने गरी हुने निर्माण तथा नदीजन्य पदार्थको अव्यवस्थित उत्खननले समेत जोखिम बढाउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ ।
बाढीपछि तिनाउको बहाव घटेको छ । नदीको सतह सामान्य अवस्थामा फर्किएसँगै बस्तीको दैनिकी पनि विस्तारै सामान्य बन्दै गएको छ । तर केही दिनअघि आफ्नै आँखाअगाडि बाढीको वितण्डा देखेका स्थानीयको मनबाट भने त्रास हटेको छैन ।