© 2026
रोल्पा ।
रोल्पामा लगातार चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालय, सञ्चारमाध्यम, उद्योग–व्यवसाय, शिक्षण संस्था तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ ।
विद्युत् नहुँदा स्थानीय तह तथा सरकारी कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीले समयमा काम गर्न नपाएको गुनासो गरेका छन् । पूर्वप्रहरी निरीक्षक धर्मराज भण्डारीले विद्युत् अभावका कारण सरकारी तथा गैरसरकारी संस्थाको सेवा प्रवाहमा समेत प्रत्यक्ष असर परेको बताएका छन् ।
विद्युत् अभावको असर सिलाइकटाइ व्यवसायमा समेत परेको छ । नेपाल कपडा तथा सिलाइकटाइ महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष मनबहादुर नेपालीका अनुसार जिल्लाका सबै तहमा सञ्चालित करिब १८ सयभन्दा बढी सिलाइकटाइ व्यवसाय प्रभावित भएका छन् । विद्युतीय मेसिन सञ्चालन गर्न नपाउँदा व्यवसायमा समस्या भएको उनले बताएका छन् ।
विद्युत् अवरुद्ध हुँदा दूरसञ्चार सेवा पनि प्रभावित भएको छ । रोल्पा नगरपालिका–४ का निवर्तमान अध्यक्ष नवराज आचार्यले मोबाइल चार्ज गर्न नसक्नुका साथै कतिपय स्थानमा नेटवर्कसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका छन् । आकस्मिक घटनामा सम्बन्धित निकायसँग फोन सम्पर्क गर्नसमेत समस्या भएको उनको भनाइ छ ।
त्यस्तै, विद्युत् अभावले जिल्लाका रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमको सेवा प्रवाहमा असर परेको सामुदायिक रेडियो जलजलाका कार्यक्रम प्रमुख वीरेन्द्र गिरीले बताएका छन् । विद्युत् नहुँदा स्थानीय समुदायले समयमै सूचना तथा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको उनले बताए ।
विद्युत् अभावका कारण विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ । जलजला बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन भइरहेका बेला विद्युत् नहुँदा मैनबत्तीको भरमा अध्ययन गर्नुपरेको विद्यार्थी जितु क्षेत्रीले बताएका छन् ।
नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार विद्युत् अवरुद्ध भए पनि जेनेरेटर तथा सौर्य ऊर्जामार्फत सेवा सञ्चालनको प्रयास भइरहेको छ । तर लामो समयसम्म विद्युत् नहुँदा वैकल्पिक व्यवस्थाबाट सेवा सञ्चालन गर्न कठिन भइरहेको उनले बताए ।
यता, नेपाल विद्युत् प्राधिकरण रोल्पाले विद्युत् सेवा नियमित गराउन मर्मत कार्य जारी रहेको जनाएको छ । कार्यालय प्रमुख ईश्वर बिष्टका अनुसार प्राधिकरणको टोली विद्युत् अवरोधको कारण पहिचान गरी मर्मतमा जुटेको छ । भिङ्रीदेखि बाटुलीतर्फको क्षेत्रमा टोली परिचालन गरी फल्ट पत्ता लगाउने काम भइरहेको उनले बताए ।
उनका अनुसार कुनै थप समस्या नदेखिएमा बेलुकासम्म विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ ।