Butwal Today

बाढीले कालीगण्डकी नदीको मोटरेबल पुल बगायो

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

तम्घास । कालीगण्डकी नदीमा आएको बाढीले गुल्मी र स्याङ्जा जोड्ने मोटरेबल पुल बगाएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–मिर्मी जोड्ने रेप्कास्थित मोटरेबल पुल बाढीले बगाएको हो ।

हर्मिचौरका स्थानीय हरीप्रसाद पाण्डेका अनुसार बिहान करिब ६ बजेतिर आएको बाढीले पुल बगाएको हो ।

कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाले तीनवटै ढोका खोलेको थियो । त्यसपछि नदीमा पानीको बहाव झनै बढेको स्थानीयले बताएका छन् ।

पुल बगेपछि हर्मिचौर र मिर्मीबीचको यातायात सम्बन्ध विच्छेद भएको छ । दैनिक खाद्यान्न तथा डिजेल–पेट्रोलका लागि मिर्मी जाने स्थानीयसँगै क्याम्पस तथा बोर्डिङ स्कुलमा अध्ययनका लागि मिर्मी जाने विद्यार्थीसमेत प्रभावित भएका छन् ।

जलविद्युत् आयोजना निर्माणका क्रममा उक्त पुल इटाली सरकारले निर्माण गरिदिएको थियो ।

यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको सेतीवेणी बजारसमेत डुबानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?