© 2026
गुल्मी ।
लगातारको भारी वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएपछि गुल्मीमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सूचना जारी गर्दै रुरुक्षेत्र गाउँपालिका–१ सालबिसौनामा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास सडक अवरुद्ध भएको जनाएको छ । त्यस्तै रुद्रवेणी-वामीटक्सार सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका-७ स्थित सिस्नेभिरमा पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रशासनले जनाएको छ ।
कालीगण्डकी नदीको सतह बढेसँगै उच्च जोखिम बनेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जोखिम नक्साङ्कनमा समेत गुल्मी उच्च जोखिममा रहेको सूचनामा उल्लेख छ । गृह मन्त्रालयको निर्देशनका आधारमा जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासकीय अधिकृत कमल सेन ओलीद्वारा जारी सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभर सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ । यसैबिच जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तटीय क्षेत्रका बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा आवश्यक पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।