© 2026
काठमान्डौँ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीभित्र समस्या रहेको महसुस गर्ने तर व्यवहारमा सुधार नगर्ने हो भने त्यसले सकारात्मक परिणाम नदिने बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारतर्फ संकेत गर्दै नेतृत्वले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।
महासचिव पोख्रेलले आफूले ओलीलाई अध्यक्ष र नेताका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै आफूहरूबीच कुनै दूरी नरहेको स्पष्ट पारे ।
बैठकमा सहभागी एक नेताका अनुसार पोख्रेलले भनेका थिए, ‘तपाईंलाई भ्रम परेको छ । मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन । तपाईं र मेरो दूरी छैन ।’
उनले पार्टीभित्र समस्या रहेको यथार्थलाई स्वीकार गरेर मात्रै त्यसको समाधान खोज्न सकिने बताएका थिए । ‘पार्टीभित्र समस्या छन्, त्यसलाई रियलाइज गरौँ, अनि मात्रै समाधान हुन्छ । तपाईंलाई नेता मानेकै छु, तर नेतृत्व मिलेन । तपाईंले कार्यकर्तालाई समान रूपमा हेर्ने दृष्टिकोण राख्नुपर्यो,’ पोख्रेलको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा समेत पार्टीमा समस्या देखिएको उल्लेख गर्दै पोख्रेलले यही कारण जनताले आफूहरूलाई विश्वास गर्न छाडेको धारणा राखेका थिए ।
‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ । प्रतिवेदनमा रियलाइजेसन गर्ने तर व्यवहार भने यथावत् राख्ने कुराले ठीक हुँदैन,’ पोख्रेलको भनाइ थियो ।
उनले पार्टी सुधारकै लागि लामो मिहिनेतपछि कार्यदलको प्रतिवेदन तयार भएकाले त्यसलाई बेवास्ता गर्न नहुने बताएका थिए । जनताले दिएको सन्देशलाई नबुझी गरिने निर्णयले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको धारणा थियो ।
यसअघि सोमबारको बैठकमा अध्यक्ष ओलीले महासचिव पोख्रेललाई कुनै भूमिका दिएका थिएनन् । त्यसपछि पोख्रेल मंगलबार गुण्डु पुगेर ओलीसँग बैठक सञ्चालनको तरिकाप्रति असहमति जनाएका थिए । उनले पार्टीको वर्तमान अवस्थाबारे पनि ओलीको ध्यानाकर्षण गराएका थिए ।