Butwal Today

धरम पोखरी : पर्यटकीय गन्तव्य बनाउन १५ करोडको योजना

५ आश्विन २०८३, सोमबार
अ+
अ-

नवलपरासी  ।

रामग्राम नगरपालिका–१८ धरमपुरस्थित ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् । पोखरी संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणका लागि करिब १५ करोड रुपियाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा हालसम्म ५० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको वडाध्यक्ष गोपाल डिस्वा मगरले बताए । उनका अनुसार पोखरीको प्राकृतिक स्वरूप संरक्षण गर्दै पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने योजना अघि बढाइएको छ ।

धरम पोखरी अहिले स्थानीय तथा आसपासका क्षेत्रका बासिन्दाका लागि घुमफिर र वनभोजको स्थलका रूपमा प्रयोग हुँदै आएको छ । पोखरीसँगै रहेको बुद्ध शान्ति साझेदारी वन क्षेत्र र आसपासका धार्मिक तथा सांस्कृतिक स्थललाई समेत जोडेर पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

वडाध्यक्ष मगरका अनुसार पोखरीको स्थानीय धार्मिक तथा सांस्कृतिक महत्वसमेत रहेको छ । पोखरी क्षेत्र बुद्धकालीन कोलिया क्षेत्रसँग जोडिएको जनविश्वास रहेको उनले बताए । पोखरी लामो समयदेखि नसुक्ने पोखरीका रूपमा परिचित रहेको र यसको पानीसँग विभिन्न स्थानीय जनविश्वास जोडिएको उनको भनाइ छ । पोखरीमा सुनको माछा देखिएको र त्यसलाई निकाल्ने प्रयास गर्दा पोखरीको पानी नसुकेको भन्ने पुरानो किंवदन्तीसमेत स्थानीयस्तरमा प्रचलित छ । स्थानीयका अनुसार यस्ता कथा र जनविश्वासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिन्छ ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश अग्रहरीले पनि धरम पोखरीलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गबाट बुद्ध शान्ति साझेदारी वन हुँदै पोखरीसम्म पुग्न सकिने भएकाले राजमार्गमा आवतजावत गर्ने पर्यटकलाई समेत यहाँ आकर्षित गर्न सकिन्छ ।

“राजमार्गसँगको पहुँचलाई व्यवस्थित गर्दै सडक, पार्किङ, खानेपानी, शौचालय, विश्राम स्थल र सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधार निर्माण गर्न आवश्यक छ,” उनले भने । अग्रहरीका अनुसार धरम पोखरीलाई रामग्राम तथा आसपासका बुद्धसँग सम्बन्धित धार्मिक तथा ऐतिहासिक स्थलसँग जोडेर पर्यटन परिपथका रूपमा विकास गर्न सकिने सम्भावना छ । पोखरीसँगै बुद्ध शान्ति साझेदारी वन क्षेत्रमा वन विहार तथा प्रकृतिमा आधारित पर्यटनका पूर्वाधार विकास गर्न सकिने उनको भनाइ छ । स्थानीयका अनुसार पोखरीको विकास गर्दा आसपासको वन, धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई समेत पर्यटनसँग जोड्न सकिन्छ । यसबाट स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सकिने अपेक्षा गरिएको छ ।

धरम पोखरीको विकासका लागि डीपीआर तयार भए पनि त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन र पूर्वाधार निर्माण मुख्य चुनौतीका रूपमा रहेको छ । स्थानीयले सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी पोखरीको संरक्षण र पर्यटन पूर्वाधार विकासलाई अघि बढाउन माग गरेका छन् । लुम्बिनी पर्यटन क्षेत्रसँग जोडेर धरम पोखरीलाई बुद्ध परिपथको गन्तव्यका रूपमा विकास गर्न सके रामग्राम क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने स्थानीयको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?