© 2026
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठन र पुस्तान्तरणको मागप्रति असहमति जनाएका छन्। सोमबार बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले बाहिरी दबाब, क्षणिक आक्रोश वा हल्लाका आधारमा आफूले नेतृत्व नछाड्ने बताएका छन्। ओलीले पुनर्गठन कुनै रहर वा लहडको विषय नभई असाधारण परिस्थितिमा गरिने बाध्यकारी कदम भएको दाबी गरेका छन्। उनका अनुसार कम्युनिस्ट आन्दोलनको इतिहासमा अहिलेसम्म तीनपटक बाध्यकारी अवस्थामा पार्टी पुनर्गठन भएको छ।
उनले नेतृत्व हस्तान्तरणको आफू विरोधी नभएको उल्लेख गर्दै त्यसका लागि निश्चित विधि, समय, तयारी र परिपक्वता आवश्यक पर्ने बताएका छन्।महाधिवेशन, पार्टी कमिटी र विधानले गर्ने निर्णय आफूले स्वीकार गर्ने तर दबाबका भरमा पद छाड्ने अवस्था नरहेको ओलीको भनाइ छ। पुस्तान्तरणलाई पुरानो र नयाँ पुस्ताबीचको संघर्षका रूपमा बुझ्न नहुने उल्लेख गर्दै उनले रूपान्तरणको अर्थ कार्यशैली परिवर्तन, निर्णय प्रक्रिया छरितो बनाउने र नयाँ पुस्तासँग जोडिनु भएको बताएका छन्।
यसअघि एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलसहितका नेताहरू सम्मिलित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टी रूपान्तरण र पुस्तान्तरणका लागि ओलीले नेतृत्व छाडेर निर्वाचनमा भएको हारको जिम्मेवारी लिनुपर्ने धारणा अघि सारेको थियो। तर, कार्यदलको प्रतिवेदन ओलीले केन्द्रीय कमिटी बैठकमा छुट्टै रूपमा प्रस्तुत नगरी आफ्नै राजनीतिक प्रतिवेदनमा त्यससम्बन्धी विषय समेटेका छन्।