Butwal Today

श्रृङ्गीघाट सामुदायिक वनको पर्यापर्यटन विकास गर्ने योजना

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

बाणगंगा । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनको संरक्षणसँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न पर्यापर्यटनको विकासमा जोड दिनुपर्ने बताएका छन्। बुधबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले वन क्षेत्रलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा मात्र नभई पर्यटन, वातावरण संरक्षण र स्थानीय आर्थिक विकाससँग जोड्नुपर्ने बताएका हुन्। नगर प्रमुख अर्यालले सामुदायिक वनको संरक्षणमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वन क्षेत्रभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताए।

यस्तै, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष रेणु सेनले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि उपभोक्ताको सक्रिय सहभागिता र वैज्ञानिक योजना आवश्यक रहेको बताइन्। उनले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिइन्। मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अंसारीले सामुदायिक वनले वन संरक्षण, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै वन व्यवस्थापनका गतिविधि प्रचलित कानुन र वैज्ञानिक विधिअनुसार अघि बढाउनुपर्ने बताए।

सभामा बोल्ने बक्ताहरुले श्रृङ्गीघाट सामुदायिक वनले गरेका बन संमरक्षण संगै सामाजिक कार्यहरु प्रशंसानिय रहेको बताए । उनीहरुले वन संग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी सुशीलले श्रृङ्गीघाट सामुदायिक वन क्षेत्र, कपिलवस्तु तथा छिमेकी जिल्लाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनालाई संरक्षण गर्दै पर्यापर्यटन विकास गर्ने ठूलो सम्भावना रहेको बताए। उनका अनुसार समूहको कार्यालयमा होमस्टे सञ्चालन गरी जिप सफारी मार्फत सुपादेराली मन्दिर पिपरा, कैलाश आश्रम, विक्रम पावर, सूर्य ओडार, बालकुण्ठ धाम, मधुवन धाम, कपिलधाम, रामदत्तिवन, बुद्धभूमि नगरपालिकाका ढिकरी र रामघाट हुँदै कपिलवस्तु नगरपालिकाका कुदान, तौलेश्वरनाथ मन्दिर, तिलौराकोट, सग्रहवा, जगदीशपुर ताल तथा बाणगंगा नगरपालिकाका लक्ष्मणघाट, राजापानी, मधौलिया पार्क लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वनसँग जोड्ने योजना अघि सारिएको छ।

पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारका लागि सूचना केन्द्र तथा सूचना बोर्ड निर्माण गर्नुका साथै आवश्यक पूर्वाधार विकास गर्ने योजना रहेको अध्यक्ष सिंहले बताए। पर्यापर्यटनको विकासबाट वन संरक्षणसँगै स्थानीय रोजगारी, व्यवसाय र आयआर्जनका अवसर सिर्जना गर्ने समूहको लक्ष्य रहेको उनको भनाइ छ। अध्यक्ष सिंहले लक्ष्मणघाट र देउघाट दाहसंस्कार स्थलको व्यवस्थापनलाई समेत निरन्तरता दिइने बताए।

साधारण सभामा अध्यक्ष सिंहले वार्षिक प्रतिवेदन, सचिव कमला सेन सुस्मा खाँणले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिना रानाले आर्थिक प्रतिवेदन र लेखा संयोजक गुरुदेव पौडेलले लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।उपाध्यक्ष बुद्धबहादुर शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुस्मा खाँणले गरेकी थिइन्। श्रृङ्गीघाट सामुदायिक वनले बाणगंगा नगरपालिकाका वडा नम्बर १, ३, ४ र ५ लाई समेटेको छ। वन क्षेत्र १४ वटा मौजामा फैलिएको छ। कार्यक्रममा समूहका पदाधिकारी,कर्मचारी,जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वनका उपभोक्ता लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?