Butwal Today

बाढीपीडितका लागि बाणगङ्गा नगरपालिकाले ४५ लाख सहयोग गर्ने

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

बाणगंगा । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बाणगङ्गा नगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।

नगर कार्यपालिकाको २०८३ भदौ १६ गते बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नगर प्रमुख चक्रपाणी अर्यालले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु स्थानीय सरकारको दायित्व भएको बताए । उनले बाढीपीडितको पीडामा मलम लगाउन नगरपालिकाले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको जनाउँदै विपद्को समयमा सबै पक्षबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

बाढीका कारण सयौँ परिवार विस्थापित हुनुका साथै ठुलो जनधनको क्षति भएको भन्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?