Butwal Today

मन्दिरको जग्गा व्यक्तिका नाममा, मालपोतका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

रुपन्देही । मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानि, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी चाई, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराजकान्त मिश्रविरुद्ध मुद्दा दायर गरिएको हो। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको कसुर गरेको आरोप लगाउँदै ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरेको छ। आयोगले सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको जनाएको छ।

आयोगका अनुसार भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनुअघि सूर्या मिश्राइनको जोतभोगमा रहेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत–९९ख० का विभिन्न कित्ता नम्बरका जग्गा हदबन्दीभन्दा बढी भएपछि कालीजी मन्दिरलाई दान गरिएको उल्लेख थियो।वि.सं. २०२६ सालको सर्भे नापीमा समेत कालीजी मन्दिरलाई दान गरिएको उल्लेख भएका कित्ता नम्बर ३२, ६७, ६८, ९२, ९४, ७ र २९ का जग्गामा हाल पनि कालीजी र शिवजीका मन्दिर रहेको आयोगले जनाएको छ।

ती मन्दिरमा सिद्धार्थनगर नगरपालिका–१० का स्थानीयवासीले परापूर्वकालदेखि पुजारी राखी नियमित पूजापाठ गर्दै आएको अवस्थामा सरकारको मापदण्डभन्दा बढी हदबन्दीका कारण मन्दिरलाई दान गरिएका जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको आरोप प्रतिवादीहरूमाथि लगाइएको छ।मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयासबारे नेपाल प्रेसले यसअघि नै समाचार प्रकाशित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?