Butwal Today

नेपालका ४७ हिमताल उच्च जोखिममा

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

विराटनगर । नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका ४७ वटा हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेकामध्ये ४२ वटा हिमताल कोशी नदीको जलाधार क्षेत्रमा, तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनमा रहेका छन्। सन् २०२० र २०२२ मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हिन्दकुश हिमालय क्षेत्रमा गरेको अध्ययनले ती हिमताल जुनसुकै बेला फुट्न सक्ने र त्यसबाट ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको हो।

अध्ययनअनुसार जोखिमयुक्त ४७ हिमतालमध्ये २५ वटा चीनको तिब्बत, २१ वटा नेपाल र एउटा भारतमा रहेका छन्। तिब्बत र भारतमा रहेका जोखिमयुक्त हिमताल फुटेमा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने अध्ययनले औँल्याएको छ। भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको हिमबाढीले ठूलो विपद् निम्त्याएपछि यस्ता जोखिमयुक्त हिमतालप्रति थप चासो बढेको छ। भविष्यमा हुन सक्ने हिमताल विस्फोट तथा हिमबाढीको जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच सूचना आदानप्रदान तथा प्रभावकारी समन्वय आवश्यक रहेको अध्ययनले जनाएको छ।

अध्ययन टोलीको नेतृत्व इसिमोडका क्रायोस्फियर विश्लेषक शरदप्रसाद जोशीले गरेका थिए। टोलीमा रिमोट सेन्सिङ विश्लेषक सुदन विकास महर्जन, तेन्जिङ चोग्याल शेर्पा तथा काठमाडौं विश्वविद्यालयका शोधकर्ता राकेश कायस्थ सहभागी थिए। अध्ययनमा समजवालरत्न बज्राचार्य, फिनु श्रेष्ठ, निशा वाग्ले र अरुणभक्त श्रेष्ठको समेत सहभागिता थियो।स्थलगत अध्ययनका क्रममा ड्रोन सर्वेक्षण, हिमतालको गहिराइ मापन ९बाथिमेट्री० तथा बाँधको आन्तरिक संरचना बुझ्न भौगर्भिक अध्ययनसमेत गरिएको थियो।

कहाँ–कुन हिमताल जोखिममा

प्रतिवेदनअनुसार कोशी, गण्डकी र कर्णाली बेसिनमा कुल ३ हजार ६ सय २४ हिमताल पहिचान गरिएका छन्। तीमध्ये ४७ वटा सम्भावित उच्च जोखिमको सूचीमा छन्। नेपालतर्फका जोखिमयुक्त हिमतालमध्ये सबैभन्दा बढी सप्तकोशीको दूधकोशी बेसिनमा रहेका छन्। दूधकोशी बेसिनका नौवटा हिमताल जोखिमको सूचीमा छन्। तीमध्ये इम्जा, लुम्दिङ, चामलाङ, होङ्गु–१ र होङ्गु–२ प्रमुख हुन्। यी हिमतालको क्षेत्रफल तीव्र रूपमा विस्तार भइरहेकाले माथिबाट बरफ खस्दा हिमताल फुट्ने जोखिम रहेको अध्ययनले जनाएको छ। साथै, तालको निकास बाँधको छेउमै हुनु र बाहिरी भाग अत्यधिक भिरालो भएकाले जोखिम थप बढेको बताइएको छ।

अरुण बेसिनमा चारवटा हिमताल जोखिमको सूचीमा छन्। तीमध्ये मकालु–बरुण राष्ट्रिय निकुञ्जको बरुण उपत्यकामा समुद्री सतहबाट करिब ४ हजार ५ सय मिटर उचाइमा रहेको तल्लो बरुण लोअर बरुण हिमताल उच्च जोखिममा रहेको अध्ययनले जनाएको छ। करिब २.७ किलोमिटर लामो र ६ सय मिटर चौडा यो हिमतालको पानी बरुण खोला हुँदै अरुण नदीमा मिसिन्छ। सन् २०२० को अध्ययनअनुसार तालमा करिब ११ करोड २३ लाख घनमिटर पानी रहेको मापन गरिएको थियो। त्यस्तै, तमोर बेसिनमा चारवटा र तामाकोशी बेसिनमा एउटा हिमताल जोखिममा छन्। तामाकोशी बेसिनको छो रोल्पा हिमतालको आकार तीव्र रूपमा बढिरहेको र यसको बाँध कमजोर भएकाले जोखिम उच्च रहेको अध्ययनमा उल्लेख छ।

त्रिशूली बेसिनमा एउटा तथा मर्स्याङ्दी बेसिनमा रहेको ठूलागी हिमताल पनि जोखिमको सूचीमा छन्। ठूलागी वरपरका भित्ताबाट हिमपहिरो तथा भूस्खलन हुने सम्भावना उच्च रहेको प्रतिवेदनले जनाएको छ। मुगु कर्णाली बेसिनमा पनि एउटा हिमताल जोखिममा रहेको पाइएको छ। तिब्बततर्फ रहेका २५ जोखिमयुक्त हिमतालमध्ये २४ वटा सप्तकोशी बेसिनअन्तर्गत पर्ने अध्ययनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?