Butwal Today

स्वास्थ्यमा बाणगंगा र विजयनगर अब्बल

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुमा गत आर्थिक वर्षमा सम्पादन अनुसार स्वास्थ्यमा बाणगंगा र विजयनगर अब्बल देखिएका छन् । जसमा नगरपालिकातर्फ बाणगंगा नगरपालिका र गाउँपालिकातर्फ विजयनगर गाउँपालिका प्रथम भएका छन् । स्वास्थ्य कार्यक्रमका विभिन्न सूचक, उपलब्धी, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहका आधारमा गरिएको मूल्यांकनमा बाणगंगा नगरपालिका जिल्लाकै समग्रमा प्रथम भएको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको प्रस्तुत मूल्यांकन अनुसार बाणगंगा नगरपालिकाले ७७.०२ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । महाराजगञ्ज नगरपालिका ७०.१० अंकसहित दोस्रो र कृष्णनगर नगरपालिका ६९।५५ अंकसहित तेस्रो भएका छन् । बुद्धभूमि नगरपालिका ६६.३६ अंकसहित चौथो र कपिलवस्तु नगरपालिका ६५.४४ अंकसहित पाँचौँ स्थानमा छन् ।

यस्तै गाउँपालिकातर्फ विजयनगर गाउँपालिका ६५.०१ अंकसहित पहिलो भएको छ । मायादेवी गाउँपालिका ६४.८५ अंकसहित दोस्रो र शुद्धोधन गाउँपालिका ६४.७१ अंकसहित तेस्रो भएका छन् । समग्रमा शिवराज नगरपालिका ६४.५७ अंकसहित नवौँ र यशोधरा गाउँपालिका ६४.५० अंकसहित दशौँ स्थानमा रहेका छन् । जिल्लाको समग्रमा बाणगंगा पहिलो, महाराजगञ्ज दोस्रो, कृष्णनगर तेस्रो, बुद्धभूमि चौथो, कपिलवस्तु पाँचौँ र विजयनगर छैटौँ स्थानमा रहेका छन् ।

विभिन्न स्वास्थ्य सूचकको अवस्था, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहलाई आधार बनाएर स्थानीय तहहरूको मूल्यांकन गरिएको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच, कार्यक्रमको प्रभावकारिता तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको अवस्थालाई समेत मूल्यांकनमा समेटिएको छ ।

विजयनगर गाउँपालिका डिजिटल हेल्थ टेक्नोलोजीको प्रयोग तथा कार्यान्वयनमा भने जिल्लाभरिमै उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग, स्वास्थ्यसम्बन्धी विवरणको व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यमा गाउँपालिकाले गरेको प्रगतिलाई उपलब्धिका रूपमा लिइएको गणेश स्वास्थ्य चौकीका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गौतम रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?