© 2026
लुम्बिनी। रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका सम्पर्कविहीन, मृत्यु भएका तथा सनाखत भई परिवारले शव बुझिसकेकाहरूको विवरण आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशबाट २५८ जना अझै सम्पर्कविहीन रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा धेरै बर्दियाका ९१ जना रहेका छन्। त्यसपछि रुपन्देहीका ४२, दाङका ३५, रोल्पाका २७, बाँकेका २१, रुकुम पूर्वका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका ९, गुल्मीका ८, नवलपरासीका ६ र कपिलवस्तुका ४ जना सम्पर्कविहीन रहेका छन्।
यसैगरी, नारायणी नदी किनारमा १६३ वटा शव तथा मानव अंग फेला परेका छन्। तीमध्ये १२० वटा पूर्ण शव र ४३ वटा मानव अंग रहेका छन्। घटनास्थलमै रहेका ६९ शवमध्ये ५४ वटा पूर्ण शव र १५ वटा मानव अंग रहेको मन्त्रालयले जनाएको छ।
अस्पतालमा रहेका शव
विभिन्न अस्पतालमा रहेका शवको विवरणअनुसार जिल्ला अस्पताल नवलपरासीमा ४०, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३१, पिपरा अस्पताल कपिलवस्तुमा ६, भैरहवास्थित मेडिकल कलेजमा ६, भीम अस्पताल भैरहवामा ३ तथा पाल्पा अस्पताल, मिसन अस्पताल र मेडिकल कलेजमा ८ वटा शव रहेका छन्।
४५ जनाको शव व्यवस्थापन
मन्त्रालयका अनुसार हालसम्म ४५ जनाको शव व्यवस्थापन गरी गाडिएको छ। तीमध्ये १९ वटा पूर्ण शव र २६ वटा मानव अंग रहेका छन्। त्यसैगरी, अन्य प्रदेशका गोरखा, धादिङ र काभ्रेका ३ जनाको शव लुम्बिनी प्रदेशमै सनाखत भई परिवारलाई बुझाइएको मन्त्रालयले जनाएको छ।