© 2026
रसुवा । रसुवाको टिमुरे क्षेत्रमा पुरिएका घर उत्खनन् गर्ने क्रममा सुरक्षाकर्मीले ९७ वटा शव फेला पारेका छन्। तीमध्ये ६१ वटा शव अझै टिमुरे घटनास्थलमै रहेका छन्। हेलिकप्टरबाट मात्र ओसार्नुपर्ने भएकाले ती शव मंगलबार नुवाकोट पठाउन नसकिएको प्रहरीले जनाएको छ। मंगलबार टिमुरेबाट १२ वटा शव नुवाकोटको त्रिशूली पठाइएको छ। टिमुरेमा फेला परेका शवमध्ये २१ वटाको मुचुल्का तयार भइसकेको भए पनि ती शव अझै घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरीका अनुसार टिमुरेमा अझै करिब ४० वटा शव उठाउन बाँकी छ। अस्पताल नपुर्याइएका शवको विवरणसमेत पूर्ण रूपमा अद्यावधिक हुन बाँकी रहेको जनाइएको छ। रसुवामा फेला परेका ३ वटा शव काठमाडौं पठाइएको छ भने यसअघि ५ वटा शव नुवाकोट पठाइएको थियो। बेत्रावतीमा सनाखत भएका ३ वटा शव आफन्तलाई बुझाइएको छ। यसअघि धुन्चे अस्पतालमा समेत १२ वटा शव लगिएको थियो।
यसअघि बाढीले बगाएर बाहिर निस्किएका शव मात्रै संकलन गर्दै आएका सुरक्षाकर्मीले सोमबार र मंगलबार भने भत्किएका तथा पुरिएका घर उत्खनन् गरेर खोजी अभियान तीव्र बनाएका थिए। त्यसक्रममा ठूलो संख्यामा शव फेला परेका हुन्। रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार टिमुरे क्षेत्रमा तीन दिनदेखि उत्खनन् गरेर खोजी भइरहेको थियो।
“तीन दिनदेखि उत्खनन् भइरहेको थियो। ९७ वटा शव फेला परेका छन्। एउटा पहिल्यै आफन्तले पहिचान गरेर लगिसकेका थिए। अब त्यहाँ खोजतलास सकियो भन्ने छ,” डीएसपी थापाले भने। उनका अनुसार स्याफ्रुबेँसीमा ९ र बेत्रावतीमा ११ वटा शव फेला परेका छन्। सुरक्षाकर्मीले नदी किनार तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी तथा उद्धार अभियान जारी राखेका छन्। रसुवामा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको टनेल क्षेत्रमा समेत खोजी तथा उत्खनन् भइरहेको छ।
नेपाली सेनाले विदेशी विज्ञहरूको समेत सहयोग लिएर टनेलभित्र फसेकाको खोजी गरिरहेको भए पनि हालसम्म टनेलको भित्री भागसम्म पुग्न सकेको छैन। उद्धार टोलीले टनेलको अवस्था अध्ययन गर्दै थप खोजी तथा उद्धारको प्रयास जारी राखेको जनाएको छ।