Butwal Today

रसुवाको भोटेकोशी बाढीपछि करदाता उपहार कार्यक्रम स्थगित

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीका कारण सरकारले सञ्चालन गर्दै आएको करदाता उपहार कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ। चालु आर्थिक वर्ष सुरु भएसँगै सरकारले करदातालाई कर तथा खरिद बिजक लिन प्रोत्साहित गर्ने उद्देश्यले हरेक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार तथा हरेक दिन एक जनालाई १ लाख रुपैयाँ प्रदान गर्दै आएको थियो।

तर भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै सरकारले भदौ महिनाको पहिलो पाक्षिक अवधिका लागि तय गरिएको दैनिक तथा बम्पर उपहार विजेता छनोट कार्यक्रम स्थगित गरेको हो। आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाको पहिलो पाक्षिक अवधिका लागि गर्नुपर्ने दैनिक तथा बम्पर उपहारका विजेता अब २०८३ असोज १ गते छनोट गरिनेछ।

उक्त दिन भदौ महिनाभर संकलन भएका खरिद बिजकका कुपन समावेश गरी दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ। सरकारले विपद्का कारण केही समयका लागि विजेता छनोट प्रक्रिया स्थगित गरे पनि भदौ महिनाभर संकलित खरिद बिजकका कुपन सुरक्षित रूपमा समेटेर असोज १ गते नियमित प्रक्रियाबाट विजेता छनोट गर्ने जनाएको छ।

करदाता उपहार कार्यक्रममार्फत दैनिक तथा पाक्षिक रूपमा नगद पुरस्कार वितरण हुँदै आएको छ। सरकारले यस कार्यक्रममार्फत करदातालाई खरिद गर्दा अनिवार्य रूपमा बिजक लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?