© 2026
संयुक्त राष्ट्रसंघ ।
गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सप्ताहन्तमा भएका इजरायली हवाई आक्रमण तथा अन्य सैन्य कारबाहीका कारण सर्वसाधारण प्रभावित भएको भन्दै चिन्ता जनाएको हो ।
ओसीएचएका अनुसार, पछिल्ला आक्रमणमा एक बालकसमेत मारिएको र देर अल-बालाहस्थित अल-अक्सा अस्पताल परिसरमा रहेका केही सामग्रीमा समेत क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ । “सर्वसाधारण र अस्पतालजस्ता नागरिक संरचनाको सधैं संरक्षण हुनुपर्छ । उनीहरूमाथि आक्रमण गर्नु वा सैन्य प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन,” ओसीएचएले भनेको छ ।
यसैबीच, आगामी वर्षायामलाई ध्यानमा राख्दै गाजामा बाढीको जोखिम न्यूनीकरण गर्न मानवीय साझेदारहरूले तयारी अघि बढाइरहेका छन् । गाजाका नगरपालिकाहरूले सयौँ स्थानमा बाढीको जोखिम पहिचान गरी आवश्यकताहरूको नक्सांकन गरेको ओसीएचएले जनाएको छ ।
बाढीको जोखिम कम गर्न नाला सफा गर्ने, भग्नावशेष तथा फोहोर हटाउने, जमिन सम्याउने, पानी तान्ने पम्प तयारी अवस्थामा राख्ने र आवश्यक उपकरण अग्रिम रूपमा भण्डारण गर्ने काम आवश्यक रहेको बताइएको छ ।
तर, पर्याप्त बजेटको अभाव, गाजामा प्रवेश गर्ने राहत सामग्रीको स्वीकृति र परिमाणमा लगाइएको सीमितता तथा इन्जिन तेल, स्पेयर पार्ट्स र भारी मेसिनरीको अभावका कारण तयारीका काम प्रभावित भइरहेका छन् ।
गाजाको अधिकांश भूभाग अझै पहुँचबाहिर रहेकाले राहत तथा तयारीका प्रयास थप चुनौतीपूर्ण बनेका छन् । बाढीको जोखिम कम भएका र विस्थापितहरूका लागि पाल स्थापना गर्न सकिने क्षेत्रसमेत ठूलो हिस्सामा पहुँच निषेध गरिएको ओसीएचएले जनाएको छ ।
यता, वेस्ट बैंकमा पनि हिंसाका घटना सप्ताहन्तमा जारी रहे । मानवीय साझेदारहरूका अनुसार विभिन्न क्षेत्रमा चोरी, आगजनी, तोडफोड, आक्रमण तथा झडपका घटनामा मानिसहरू घाइते हुनुका साथै सम्पत्तिमा क्षति पुगेको छ ।
रामल्लाहको अल-मुघय्यिर क्षेत्रमा इजरायली सुरक्षाकर्मीको साथमा आएका व्यक्तिहरूले लगातार तीन दिन आक्रमण गरेको रिपोर्ट आएको छ । ती घटनामा करिब एक दर्जन प्यालेस्टिनी घाइते भएका छन् भने कतिपय अवस्थामा मानिस तथा सवारीसाधनको आवतजावतसमेत अवरुद्ध भएको बताइएको छ ।
आक्रमणका कारण एम्बुलेन्सको आवतजावतसमेत प्रभावित भएको ओसीएचएले जनाएको छ । रासस