Butwal Today

बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम उच्च, स्वास्थ्य सतर्कता अपनाउन आग्रह

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । खानेपानीका मुहानमा बाढी तथा ढल मिसिएर वातावरण दूषित भएपछि रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीजस्ता रोगको जोखिम उच्च बनेको छ। विशेषज्ञहरूका अनुसार बाढीपछि खानेपानी दूषित हुनु, सरसफाइमा कमी आउनु तथा विस्थापितहरू अस्थायी शिविरमा भीडभाडका साथ बस्नुपर्ने अवस्थाले सङ्क्रामक रोग तीव्र रूपमा फैलिन सक्ने खतरा हुन्छ। साझा शौचालय, खानेपानी र सामूहिक रूपमा खाना पकाउने तथा खाने अवस्थाले संक्रमणको जोखिम थप बढाउने उनीहरूको भनाइ छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा.मनोज यादवले बाढी–पहिरोका कारण ढल र खानेपानीका मुहान मिसिँदा पानी तथा वातावरण दूषित हुने बताए। यस्तो अवस्थामा झाडापखाला, हैजा तथा पानी जमेको स्थानमा लामखुट्टेको वृद्धि भई डेंगी फैलिने जोखिम उच्च हुने उनको भनाइ छ।उनले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। डा. यादवका अनुसार विपद्का बेला धेरै मानिस सीमित ठाउँ वा अस्थायी शिविरमा बस्न बाध्य हुने भएकाले सामान्य अवस्थामा आइसोलेसनमार्फत नियन्त्रण गर्न सकिने संक्रमण पनि तीव्र रूपमा फैलिन सक्छ। त्यसैले सरकारले पर्याप्त स्वास्थ्य जनशक्ति परिचालन गर्नुका साथै व्यवस्थित सेल्टर, औषधि आपूर्ति र आवश्यक परे सामूहिक खोपको व्यवस्था गर्नुपर्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव महेन्द्र श्रेष्ठले बाढीपछिको अवस्थामा महामारी फैलिने जोखिम अत्यन्तै उच्च रहेको बताए। पानीजन्य रोगसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगी, मलेरियालगायत सरुवा रोग, कुपोषण तथा मानसिक स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले तत्काल विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। श्रेष्ठले प्रभावित क्षेत्रमा अस्थायी स्वास्थ्य संरचना तथा सेल्टर व्यवस्थित गर्न, स्वास्थ्य शिविर र ओपीडी सेवा सञ्चालन गर्न तथा प्रभावित नागरिकलाई औषधि र आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने बताए। लामखुट्टेबाट जोगिन कीटनाशकयुक्त झुल वितरण, पोषण पुनर्स्थापना केन्द्र स्थापना तथा दीर्घरोगीका लागि नियमित औषधिको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार विस्थापित नागरिकमा चिन्ता, मानसिक तनाव तथा डिप्रेसनजस्ता समस्या देखिन सक्ने भएकाले स्वास्थ्य टोलीमार्फत मनोसामाजिक परामर्श सेवा पनि सञ्चालन गर्न आवश्यक छ। स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कमजोर सरसफाइका कारण झाडापखाला, हैजा, हेपाटाइटिस ‘ए’ लगायत पानीजन्य रोग तथा डेंगीजस्ता कीटजन्य रोगको जोखिम बढ्न सक्ने जनाएको छ। ज्वरो, झाडापखाला वा हैजाका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

एकीकृत स्वास्थ्य प्रतिकार्य योजना लागू

रसुवालगायत आसपासका पाँच जिल्लाका १५ स्थानीय तहमा बाढीका कारण स्वास्थ्य संरचनामा समेत क्षति पुगेपछि सरकारले सम्भावित महामारी रोकथामका लागि एकीकृत स्वास्थ्य प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। सङ्क्रामक तथा सरुवा रोग फैलिन नदिन स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘सर्मास’ प्रणालीमार्फत प्रभावित क्षेत्रमा ज्वरो तथा झाडापखालाका बिरामीको नियमित निगरानी र खोजपडताल गरिरहेको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पनि ६ सदस्यीय द्रुत प्रतिकार्य समिति गठन गरी प्रभावित क्षेत्रका १७३ जना क्षयरोगीको पहिचान, उपचारको निरन्तरता र औषधिको उपलब्धता सुनिश्चित गरेको जनाएको छ।प्रभावित क्षेत्रमा आवश्यक औषधि, व्यक्तिगत सुरक्षा सामग्री, शव व्यवस्थापन सामग्री तथा दीर्घरोगीका लागि गैर–सरुवा रोगको औषधि पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार स्थानीय स्वास्थ्य संस्थाबाट सेवा निरन्तर दिने व्यवस्था मिलाइएको छ। स्थानीय स्तरमा उपचार सम्भव नभएका घाइतेलाई एम्बुलेन्समार्फत निःशुल्क काठमाडौँ ल्याई वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल तथा नेपाल प्रहरी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले बताए। उनका अनुसार तत्कालको उपचारसँगै भविष्यमा देखिन सक्ने पानीजन्य, खाद्यजन्य, पोषण तथा मानसिक–मनोसामाजिक स्वास्थ्य समस्यालाई समेत ध्यानमा राखेर निगरानी प्रणाली, हटलाइन सेवा र साझेदार संस्थासँगको समन्वयलाई प्रभावकारी बनाइएको छ।

स्वास्थ्यसम्बन्धी समस्या, जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हेल्पलाइन १११५ मा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। विशेषज्ञको सुझावस् बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारसँगै स्वच्छ पानी, सरसफाइ, सुरक्षित खाना र रोगको निगरानीलाई उच्च प्राथमिकता दिनु आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?