काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले भदौभित्रै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याउने बताएका छन् । उनले सोमबार विगतको बजेटमा देखिएका बेथिति र कमजोरीलाई सुधार गर्दै यस पटकको बजेट जनमुखी बनाइने बताए ।
‘हिजो बजेटमा बेथिति देखियो । त्यही भएर अहिलेको बजेटमा जनताको अनुभूति हुने गरी बजेट आउँछ,’ उनले भने ।
चालु आर्थिक वर्षका लागि यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन सकेको थिएन । बजेट पारित गर्न नसक्दा सरकारसमेत सङ्कटमा परेको थियो । पछि राजनीतिक समीकरण परिवर्तन भएसँगै शाह नेतृत्वको सरकार ढलेको थियो ।
नयाँ सरकार गठन भएपछि प्रदेश सरकारले बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अघि बढाएको हो । हाल प्रदेशका विभिन्न मन्त्रालयले योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेका छन् । सरकारले बजेटका प्राथमिकता निर्धारण गर्ने कामसमेत अघि बढाएको जनाएको छ ।
नयाँ सरकारले विगतका बजेटका कमजोरी सच्याउँदै जनताको आवश्यकता र प्रदेशको प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम समेट्ने दाबी गरेको छ ।
सरकारले आगामी बजेटमार्फत स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार, कृषि तथा पर्यटनलगायत क्षेत्रमा जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको मन्त्री रावलले जानकारी दिए ।