Butwal Today

सुरुङमा फसेकाको उद्धारमा सेना, विदेशी विशेषज्ञसहितको टोली परिचालित

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विदेशी विशेषज्ञ टोली परिचालन भए पनि सोमबार साँझसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन। नेपाली सेनाका अनुसार त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे, माथिल्लो त्रिशूली–१, रसुवागढी र लाङटाङ हाइड्रोपावर लगायतका आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी छ।

त्रिशूली–३ ए को सुरुङमा टनेल हेड फेला परेको छ भने कम्प्रेसरबाट हावा पठाउने काम भइरहेको छ। सुरुङभित्र जमेको पानी निकाल्ने कार्यसमेत जारी छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको सेनाले जनाएको छ। यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९० जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। त्रिशूली–३ बी मा पनि विज्ञसहितको सैनिक टोली परिचालन गरिएको छ। छुट्टै टोलीले एक्साभेटरको प्रयोग गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी विशेषज्ञसहितको संयुक्त टोली करिब ३५ मिटरभित्रसम्म पुगेको छ। सुरुङको अगाडिको भाग क्लियर गर्ने काम भइरहेको छ। त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब ३०० मिटरसम्म पुगेर खोज तथा उद्धार भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीसमेत परिचालित छन्।

रसुवागढी हाइड्रोपावरको सुरुङमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेको थियो। त्यहाँ सुरुङको बन्द भाग फेला परे पनि मानिस नभेटिएपछि खोजी टोली फर्किएको सेनाले जनाएको छ। लाङटाङ हाइड्रोपावरको सुरुङमा टोली करिब ६५ मिटरसम्म पुगेको छ। त्यहाँबाट एक जनाको शव निकालिएको छ। यसैबीच, सुरुङमा केन्द्रित भएर खोज तथा उद्धार गरिए पनि नेपाली सेनाले अन्य प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। सोमबार मात्रै एक जना जर्मन नागरिकसहित १०९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज अन्य सुरक्षा निकायसँग समन्वय गरी परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्। जलविद्युत आयोजनामा कार्यरत २७९ जनाको उद्धार भइसकेको जनाइएको छ। यसमध्ये मैलुङ खोला जलविद्युत आयोजनाबाट ९ जना र माथिल्लो त्रिशूली–१ बाट २५४ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–३ बी क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ।

यसअघि चिनियाँ उद्धार टोलीले विभिन्न सुरुङको रेकी गरेको थियो। नुवाकोटको त्रिशूली जलविद्युत आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना र देवीघाट जलविद्युत आयोजनाबाट चार जनाको उद्धार गरिएको सरकारले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनाबाट नेपाली सेनाले दुई जनाको उद्धार गरेको छ। चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरे पनि थप मानिस नभेटिएपछि टोली फर्किएको हो।

लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनाका सुरुङको मुख खोल्न नेपाली सेना र भारतीय उद्धार टोली सोमबार बिहानैदेखि परिचालित छन्।बाढीका कारण केही जलविद्युत आयोजनामा मानिस सम्पर्कविहीन भएकाले सुरुङभित्र फसेको आशंका गरिएको छ। उद्धार टोलीले सम्भावित स्थानमा उपकरण तथा विदेशी विशेषज्ञको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?