Butwal Today

बाढीले सडक र पुलमा २० अर्बको प्रारम्भिक क्षति, ३२ पुल पूर्ण रूपमा बगे

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका अनुसार बाढीबाट सडक र पुल संरचनामा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक सञ्जालतर्फ करिब १० अर्ब र पुलतर्फ करिब १० अर्ब रुपैयाँको क्षति भएको हो।

उनका अनुसार बाढीले पुर्‍याएको क्षतिको परिमाण निकै ठूलो रहेकाले स्थायी पुनर्निर्माण सम्पन्न गर्न वर्षौँ लाग्न सक्नेछ। पुनर्निर्माणको लागतसमेत साविकको अनुमानभन्दा निकै बढी हुने विभागले जनाएको छ। सडक विभागको स्थलगत प्राविधिक विवरणअनुसार बाढीले ४० किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त बनाएको छ। यस्तै, भोटेकोशी तथा त्रिशूली नदीमा रहेका ४१ प्रमुख पुलमध्ये ३२ वटा पूर्ण रूपमा बगेका छन् भने ३ वटा क्षतिग्रस्त भएका छन्। ६ वटा पुल मात्र सुरक्षित रहेका छन्।

बाढीले नेपाल–चीन सीमा जोड्ने रणनीतिक महत्त्वको रसुवागढीस्थित मितेरी पुल, रसुवाको टिमुरेका दुई बेलिब्रिज, चिलिमे र स्याफ्रुबेँसीका पक्की तथा बेलिब्रिजलगायत संरचना बगाएको छ। मैलुङ, हाकु क्षेत्रका जलविद्युत् आयोजनाका पुलहरूमा समेत ठूलो क्षति पुगेको छ। त्यस्तै, नुवाकोट–रसुवा सीमास्थित बेत्रावतीका पुराना तथा नयाँ दुवै पक्की पुल, तुप्चे, त्रिशूली बजार, देवीघाट, श्रीखली, बुद्धसिंहघाट र रातमाटेलगायतका पुलहरू बाढीले बगाएको छ।धादिङतर्फ झरेबगैँचा, घाटबेँसी र फुर्केखोलाका पुलसमेत बगेका छन्। कोल्पुखोलाका दुई पुल र मास्टर धादिङको पुलमा आंशिक क्षति पुगेको विभागले जनाएको छ। मुग्लिङ आर्च ब्रिज, फिस्लिङ र बेनिघाटलगायत ६ वटा पुल भने बाढीबाट सुरक्षित रहेका छन्।

बेत्रावती सडक जोड्न तीव्र प्रयास

विपद्पछि सडक विभागको प्राविधिक टोली औपचारिक अनुगमनभन्दा तत्काल अवरुद्ध सडक खुलाउने काममा केन्द्रित भएको छ। प्रवक्ता न्यौपानेका अनुसार नुवाकोट–रसुवा सीमा क्षेत्रमा प्राविधिक टोली परिचालन गरी सडक खुलाउने काम भइरहेको छ। राजधानी तथा मुख्य राजमार्गलाई रसुवासँग पुनः जोड्न बेत्रावती सडक सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकता दिइएको छ। हाल पहिरो र सडक कटानका कारण जोखिमयुक्त बनेको तिरतिरे भीर क्षेत्रमा ट्र्याक खोल्ने तथा सडक मर्मतको काम तीव्र पारिएको छ। धेरै स्थानमा सडक नै कटान भएकाले अस्थायी बाटो निर्माणमा चुनौती देखिएको विभागले जनाएको छ।

रसुवागढी नाका जोड्ने सडक र पुल ध्वस्त

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने मितेरी पुलसहित दर्जनौँ सडक तथा पुल संरचना ध्वस्त भएपछि द्विपक्षीय व्यापारसमेत प्रभावित भएको छ। स्थानीय बस्तीबीचको यातायात सम्पर्क विच्छेद हुँदा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। सडक विभागले तत्कालका लागि डाइभर्सन, ह्युमपाइप र बेलिब्रिज प्रयोग गरी अस्थायी रूपमा यातायात सञ्चालन गर्ने तयारी थालेको छ। तर पूर्ण रूपमा बगेका ३२ वटा पुल तथा क्षतिग्रस्त मुख्य सडकहरूको स्थायी पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना, ठूलो बजेट र केही वर्षको समय आवश्यक पर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?