Butwal Today

विपद्को समयमा सरकारलाई सघाउन कांग्रेस प्रतिबद्ध छ : गगन थापा

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको नीति रहेको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए ।

राहत तथा उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु पनि पार्टीको जिम्मेवारी भएको उनले बताए । उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो ।’

बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे । पार्टीका विभिन्न समितिबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाइने उनले बताए । राहत वितरणमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ थियो ।

विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने थापाले बताए । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत कुरा गरिसकेको उनले जानकारी दिए ।

‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ उनले भने ।

थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए । संघीय सरकारले स्थानीय सरकारसँग उचित समन्वय नगरेकोतर्फ संकेत गर्दै उनले स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न नसकिने बताए ।

उनले भने, ‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन । उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ ।’

थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमण गरी स्थलगत अवस्थाबारे जानकारी लिने र थप राहतका लागि पहल गर्ने बताए ।

बैठकमा नुवाकोट, रसुवा र धादिङका नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?