Butwal Today

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब रकम संकलन

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो ।

विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा दाताहरूले उक्त रकम जम्मा गरेका हुन् ।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत तथा उद्धारका लागि मनकारी व्यक्ति तथा संस्थाहरूबाट सहयोग रकम जम्मा हुन थालेको हो ।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् ।

यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ सहयोगसहित कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो ।

यसअघि बिहीबार मात्रै ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त रकममा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेको सहयोग भने समावेश छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?