Butwal Today

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ५ करोड सहयोग घोषणा

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान र डुबान गराउँदा व्यापक मानवीय तथा भौतिक क्षति भएको छ । बाढीका कारण कैयौँ नागरिकले ज्यान गुमाएका छन् भने धेरै बेपत्ता भएका छन् । सयौँ परिवार घरबारविहीन भई विस्थापित भएका छन् । स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय संकट तथा विपद्का समयमा नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका क्रममा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराएको बताएको छ ।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ । बैंकका अनुसार उसले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ । यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ ।रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको ग्लोबल आइएमई बैंकले विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?