Butwal Today

चीनसँगको सूचना आदानप्रदानलाई प्राथमिकतामा राखौँ : प्रचण्ड

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको जोखिमका विषयमा चीनतर्फबाट भइरहेको सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले थप बाढी आउने जोखिम र सम्भावनाबारे जनतालाई समयमै सुसूचित गर्नुपर्नेमा जोड दिए ।

‘चीनतर्फबाट सूचना आदानप्रदानमा के–कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं,’ उनले भने ।

प्रचण्डले विपद्पछिको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताए । खोज तथा उद्धारसहित मानवीय सहयोगमा आफूहरू तयार रहेको र पार्टीका नेता तथा कार्यकर्ता परिचालन भइसकेको उनले जानकारी दिए ।

विगतका विपद्का घटनाबाट प्राप्त अनुभवका आधारमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पमा हामीले गरेको कामको अनुभवका आधारमा सबै राजनीतिक दल एक ठाउँ उभिऔं ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि दलगत पहिचानलाई निषेध गर्दै राहत, उद्धार र पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन् । उनले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ लामिछानेले भने ।

सरकारको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणाली मानेर सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने उनको आग्रह छ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन् ।

त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी र प्रवक्ता जगदीश खरेललगायतको पनि सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?