Butwal Today

रसुवामा बाढीपीडितको उद्धार र खोजी रातभर जारी राख्ने नेपाली सेनाको तयारी

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्य आज रातभर पनि जारी राख्ने भएको छ। बाढीबाट प्रभावितको संख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेका बेला सेनाले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिने जनाएको हो। सेनाका अनुसार आज रातभर ११ वटा ‘एक्स टिम’ परिचालन गरी जमिनबाटै उद्धार तथा खोजी कार्य जारी रहनेछ। भोलि बिहान टिमुरेभन्दा माथिल्लो क्षेत्रमा रहेका ठूलो संख्याका प्रभावितलाई हवाई उद्धार गर्ने तयारी छ। विभिन्न टनेलमा अड्किएका व्यक्तिको उद्धारको प्रयास पनि जारी रहने सेनाले जनाएको छ।

उद्धारका लागि थप समन्वयसहित हवाई साधनको प्रभावकारी परिचालन, राहत सामग्री वितरण तथा मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सहयोग गरिनेछ। त्यसैगरी, जमिनमा थप फौज परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइनेछ। नेपाली सेनाले अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा स्थानीय जनसमुदायसँग समन्वय गरी लक्षित वर्गको उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ।

सेनाका अनुसार आज दिनभर १ हजार ६९७ जना फौज परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ। उद्धार, खोजी तथा राहतका क्रममा आज ६ वटा सैनिक हेलिकप्टरमार्फत ९४ जना र पाँचवटा गैरसैनिक हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ। यस्तै, जमिनबाट २७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रमा ८०० केजी टेन्ट र २०० केजी मेडिकल सामग्री पुर्‍याइएको छ। उद्धारमा खटिएका हेलिकप्टरमार्फत प्रभावितलाई खाना तथा पानीसमेत उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?