Butwal Today

त्रिशूलीमा आएको विनाशकारी बाढीबारे विज्ञको यस्तो अनुमान

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

तिब्बत क्षेत्रबाट सुरु भई आज बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीको वास्तविक कारण र यसबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।

चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल तथा हिमबाढी जोखिमसम्बन्धी अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनियाँ सहकर्मीहरूसँगको प्रारम्भिक छलफलका आधारमा नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ ठूलो हिमपहिरो आएर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ ।

तिब्बतको जिलोङ काउन्टी (केरुङ क्षेत्र) मा पर्ने दोङलिङ साङ्पो (पेलियन) खोलामा पहिरो खसेर केही समय नदी थुनिएपछि ताल बनेको र उक्त ताल फुट्दा त्रिशूली नदीमा अचानक ठूलो बाढी आएको हुनसक्ने खड्काले बताए । यद्यपि, उक्त क्षेत्रमा साना–साना हिमताल मात्र रहेकाले एउटै हिमताल फुटेर मात्रै यति ठूलो विनाश हुन नसक्ने उनको भनाइ छ ।

बाढीको प्रकृतिलाई भारतको चामोलीमा भएको ठूलो हिमपहिरोको घटनासँग तुलना गर्दै खड्काले यसलाई ठूलो स्तरको विनाशकारी घटना हुनसक्ने बताएका छन् । सिक्किमको दक्षिण लोनाक ताल फुटेजस्तो ठूलो ताल त्रिशूलीको तल्लो वा माथिल्लो तटीय क्षेत्रमा नरहेकाले यस विपद्का पछाडि विभिन्न कारणको संयुक्त प्रभाव हुनसक्ने उनको विश्लेषण छ ।

वर्षायाम भएकाले नदी थुनिँदा तल्लो तटीय क्षेत्रमा पानीको बहाव घटेको तत्काल थाहा नभएको र पछि नदी थुनेर बनेको ताल फुट्दा बाढीले विनाशकारी रूप लिएको हुनसक्ने उनले बताए ।

घटनाको वास्तविक अवस्था बुझ्न भू–उपग्रहका तस्बिरहरूको सहयोग लिइरहेको जानकारी दिँदै खड्काले बादल नलागेको अवस्थामा क्षेत्रका स्पष्ट तस्बिर प्राप्त हुने र त्यसबाट घटनाको थप वास्तविकता पत्ता लगाउन सहयोग पुग्ने बताए ।

खड्काका अनुसार सन् १९५० को दशकदेखि तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमताल बन्ने र फैलिने क्रम तीव्र भएको छ । सन् १९८७ देखि २०१७ सम्म गरिएको अध्ययनले हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको देखाएको उनले जानकारी दिए । उनका अनुसार हिमतालहरू ‘टाइम बम’ जस्तै भएकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम रहन्छ ।

त्रिशूली, भोटेकोसी, तामाकोसी, मर्स्याङ्दी र अरुणजस्ता नदीहरूको ठूलो जलाधार क्षेत्र तिब्बतमा रहेकाले नेपालमा बाढीको जोखिम सधैँ उच्च रहने खड्काले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?