© 2026
काठमान्डौँ ।
चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।
नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीसम्बन्धी सूचना जारी गर्दै नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको जनाएको छ ।
बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।
चीनतर्फ गएको हिमपहिरोपछि आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुर्याएको छ ।