© 2026
काठमान्डोँ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले विपद्को यस घडीमा भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन् ।
स्थिति गम्भीर रहेकाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यमा केन्द्रित हुन उनले अनुरोध गरेका छन् । विपद् व्यवस्थापनका लागि सरकारले गर्ने हरेक प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।
सभापति थापाले कांग्रेसका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका पार्टी नेतृत्व एवं सदस्यहरूलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।
तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार कार्यमा सहयोग पुर्याउन तथा राहत वितरणमा तत्काल जुट्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
‘विपद्को यो समयमा नागरिकको सुरक्षा नै हाम्रो मुख्य प्राथमिकता हुनुपर्छ,’ थापाले भनेका छन् ।