© 2026
सैनामैना । बाबा बिनाको ३ सय ६५ दिन बितेछन्। बाबाले हामीलाई छोडेर गएको, अर्थात् बाबा हामीसँग भौतिक रूपमा नभएको पनि एक वर्ष पूरा भएछ । समय आफ्नै गतिमा अघि बढिरह्यो। पात्रोका पाना फेरिए, ऋतु बदलिए, चाडपर्व आए–गए। तर मनले भने बाबालाई गुमाएको त्यो दिनलाई अझै पुरानो बनाउन सकेको छैन। सबै कुरा भर्खरैजस्तो लाग्छ—बाबा घरमै हुनुहुन्थ्यो, हामीसँग कुरा गर्नुहुन्थ्यो, सल्लाह दिनुहुन्थ्यो। कुनै अप्ठ्यारो पर्दा “बाबा हुनुहुन्छ नि” भन्ने एउटै भावनाले पनि मनलाई ढुक्क बनाउँथ्यो । आज घर उस्तै छ, आँगन उस्तै छ, हामी उही छौँ। तर घरभित्रको एउटा आवाज छैन। कुनै कुरा हुँदा सबैभन्दा पहिले सम्झिने मान्छे छैन । योजना बनाउँदा सल्लाह लिनुपर्ने व्यक्ति छैन । खुसीको खबर सुनाउनुपर्ने मान्छे छैन । दुःख पर्दा जसको साथले मन थामिन्थ्यो, त्यो सहारा छैन । अर्थात् बाबा हामी माझ हुनुहुन्न ।
मेरो बाबा कृष्णको जन्म २०१६ साल भदौ ४ गते पाल्पा जिल्लाको साविक छहरा गाविस–२ मा भएको हो। उहाँको बाल्यकाल त्यही गाउँको माटो, अभाव र संघर्षसँग बित्यो। पढ्ने ठूलो रहर हुँदाहुँदै पनि तत्कालीन पारिवारिक परिस्थितिका कारण उहाँले पढाइलाई निरन्तरता दिन सक्नुभएन । हजुरबुवासँगै काम सिक्न थाल्नुभयो र बुवाले गर्दै आउनुभएको परम्परागत कपडा सिलाउने बालिघरे पेशालाई आफ्नो मुख्य व्यवसाय बनाउनुभयो । समयसँगै उहाँको जीवनमा नयाँ जिम्मेवारी थपिँदै गए। विवाहपछि आमासँगै अर्को गाउँमा काम गर्न थाल्नुभयो। श्रीमान श्रीमती मिलेर मेहनत गर्नुभयो, घरजग्गा जोड्नुभयो, सन्तान जन्माउनुभयो र आफ्नै परिवार निर्माण गर्नुभयो। तीन छोरा र दुई छोरी उहाँको जीवनको केन्द्र बने । बाबा परम्परागत सोचमै सीमित हुनुभएन । बालिघरे प्रथामा श्रमको उचित मूल्य नपाइने देखेपछि उहाँले त्यसलाई ज्यालामा रूपान्तरण गर्नुभयो। अरूको घरमा गएर कपडा सिलाउने काम छोडेर आफ्नै घरमा पसल सञ्चालन गर्नुभयो। औपचारिक शिक्षाको डिग्री हासिल गर्न नसके पनि व्यवहारिक ज्ञान र दूरदर्शितामा उहाँ निकै अगाडि हुनुहुन्थ्यो। यही सोचका कारण उहाँले आफ्ना पाँचै जना सन्तानलाई सिप र शिक्षामा पछि पर्नु हुन्न भन्ने सोचाईले अगाडि बढाउन निरन्तर मेहनत गर्नुभयो ।
हामीलाई पढाउनु उहाँका लागि किताब र परीक्षा पास गराउने विषय मात्र थिएन । जीवन बुझ्नुपर्छ, आफ्नै मेहनतले स्थापित हुनुपर्छ र विभेदका विरुद्ध उभिन सक्नुपर्छ । आफ्नै श्रम र क्षमताले अघि बढ्नुपर्छ भन्ने उहाँको मान्यता थियो । अभाव, दवावका विचमा छोराछोरीको उन्नत भविष्यका लागि दुख सुखको सारथी बनेर साथ उभिनुभयो । कहिलेकाही हार्दा पनि कहिल्यै झुक्न दिनुहुन्नथ्यो। “अर्को पटक सफल भइन्छ” भन्दै हौसला दिनुहुन्थ्यो । बाबाको माया आफ्ना छोराछोरीमा मात्र सीमित थिएन । दाजुभाइ, दिदीबहिनी, चेलीबेटी, ससुरालीका आफन्त, छरछिमेकी सबैसँग उहाँको आत्मीय सम्बन्ध थियो। कसैलाई दुःख परेको थाहा पाए आफूले सकेको सहयोग गर्नुहुन्थ्यो। दिनभरि मेहनत गरेर कमाएको पैसाबाट पनि अरूको समस्या समाधान गर्न पछि हट्नुहन्थेन । विद्यालय व्यवस्थापन समिति, वन समिति, टोल तथा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकै कारण होला, बाबाले जीवनमा धेरै इष्टमित्र कमाउनुभयो। “आफ्नो छांक काटेर भए पनि अर्कोको भोक मेटाउनुपर्छ” भन्ने भावना उहाँमा थियो । त्यसैले उहाँले हामीलाई सम्पत्ति मात्र होइन, मान्छे भएर बाँच्ने तरिका सिकाएर जानुभयो ।
जब अस्पताल नै हाम्रो दिनचर्या बन्यो
समय बित्दै गयो। हामी सबै आ–आफ्नो काम र जिम्मेवारीमा लाग्यौँ । दाइहरू व्यवसायमा लाग्नुभयो, दिदीले पढाइसँगै व्यवसाय अघि बढाउनुभयो। बाबाआमा गाउँमै बसेर हामीलाई सहरमा आफ्नो भविष्य बनाउन वातावरण मिलाइदिनुभयो। सबैले भन्न थाले—“कृष्णका दिन फर्किए।” बाबाले दिएको संस्कारमा हुर्किएका सन्तानले आफ्नो बाटो बनाउन थालिसकेका थियौं । जीवन सहज र सरल रूपमा चलिरहेको थियो। तर समय सधैँ हामीले चाहेझैँ चल्दोरहेनछ । उमेर बढ्दै जाँदा बाबामा विभिन्न स्वास्थ्य समस्या देखिन थाले। पछिल्लो समय दमको समस्याले उहाँलाई निकै सतायो। सास फेर्न गाह्रो हुन थाल्यो र नियमित औषधि सेवन गर्नुपर्ने भयो । स्वास्थ्य बिग्रँदै गएपछि अस्पतालका बसाइहरू हाम्रो जीवनको हिस्सा बन्न थाले । पहिले तराई झर्न नमान्ने बाबाआमालाई अन्ततः हामीले तराई ल्यायौँ। पछिल्ला दुई वर्ष त झन्डै अस्पतालमै बिते। कहिले आईसीयू, कहिले बेड, कहिले क्याबिन । कहिले स्वास्थ्यमा सुधार आएजस्तो लाग्थ्यो र हामी आशावादी हुन्थ्यौँ—अब बाबा निको भएर घर फर्किनुहुन्छ। फेरि अवस्था बिग्रँदा मनमा डर पलाउँथ्यो। उपचारमा हामीले कुनै कमी राखेनौँ। सम्भव भएसम्म राम्रो उपचार गरायौँ। दाजुभाइ, दिदीबहिनी र परिवारका सबैले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्यौँ। एउटै चाहना थियो—बाबा बाँच्नुपर्छ।
पैसा मात्रै सबै कुरा रहेनछ पैसा थियो, अस्पताल थियो, चिकित्सक थिए, औषधि थियो। परिवारको माया थियो र बाबालाई बचाउने ठूलो चाहना पनि थियो। तर जीवन फर्काउने कुरा हाम्रो हातमा रहेनछ। अस्पतालका ती दिनमा मैले बाबालाई अझ नजिकबाट देखेँ। उहाँको बेडछेउमा बसेँ। डाक्टरसँग कुरा गरेँ। उपचारबारे बुझें। औषधि र उपचारका हरेक चरण नियालेँ। सास फेर्न गाह्रो हुँदा उहाँको छटपटी देखेँ। आँखामा आएका आँसु देखेँ। कमजोर हुँदै गएको शरीर देखेँ। त्यसैले पनि उहाँको मृत्युको पीडा मेरो मनमा अझ गहिरो भएर बसेको छ । सायद त्यसैले होला पैसा सबथोक रहिनछ ।
२०८२ साल भदौ ९ को त्यो बिहान
तीजको समय थियो। घरमा चाडपर्वको माहोल थियो। बाबाका दिदीबहिनी, आमाका दिदीबहिनी र आफन्तलाई दर खान घरमा बोलाउने तयारी थियो। तर बाबाको स्वास्थ्य कमजोर भएकाले सबैजना घरमै बसेर तीज मनाउने सल्लाह गरेका थियौँ। भदौ ९ गते बाबालाई नियमित स्वास्थ्य जाँचका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाने तयारी थियो। भाउजूले बाबालाई अस्पताल ल्याउने र मैले टिकट काटेर डाक्टरसँग जाँच गराउने योजना बनाएका थियौँ। तर बाबा अस्पताल जान मानिरहनुभएको थिएन। “म अस्पताल जाँदिनँ, आज चाहिँ दिदीहरूलाई अलि छिटो बोलाऊ है,” उहाँले भन्नुभएको थियो। बिहान करिब ६ बजेतिर बाबा उठ्नुभयो। आफैँले चिया र बिस्कुट खानुभयो। आमा अस्पताल लैजाने तयारी गर्दै हुनुहुन्थ्यो। भाउजू दर पकाउने सामानको बन्दोबस्त मिलाउँदै हुनुहुन्थ्यो। कपडा लगाउने क्रममा बाबाले आमासँग भन्नुभएछ—“बुढी, मलाई सास फेर्न गाह्रो भयो।” हतारिँदै औषधि खुवाइयो।
बाबाले मलाई अस्पताल नलैजान आग्रह गर्दै “बाबुनानीलाई छिटो बोलाऊ, आज दर खाने दिन” भन्नुभयो। त्यसैबीच उहाँको धड्कन बढ्यो, स्वर सुक्यो। पाँच मिनेटभित्रै समयले हामीलाई यस्तो चोट दियो, जसको कल्पना पनि गरेका थिएनौँ। अस्पताल पुर्याउने अवसर समेत पाएनौँ। केही क्षणअघि हामीसँग कुरा गरिरहनुभएको बाबा एकाएक हामीलाई छोडेर जानुभयो।फोनका घण्टी बज्न थाले। बाहिर रहेका दाजु, दिदी र आफन्तलाई खबर गर्यौँ। साँझ घरमा रमाइलो गर्ने तयारी गरिरहेका परिवारका सदस्यहरू अन्तिम बिदाइका लागि घर फर्किन थाले। माइलो दाइ सिक्किममा हुनुहुन्थ्यो। खबर पाएपछि सिक्किमबाट झापा, झापाबाट काठमाडौं, भैरहवा हुँदै उहाँ बेलुका घर आइपुग्नुभयो। कान्छो दाइ तीन दिनपछि आउनुभयो। तीजका लागि माइत र मामाघर आएका चेलीबेटीहरू आफ्नै दाजु र मामाको मृत शरीरमा श्रद्धाञ्जली दिन विवश भए। टाढाटाढाबाट आफन्तहरू आए। घर भरियो, तर घरभित्र उत्सवको होइन, शोक र मौनताको सन्नाटा थियो।बाबाले जीवनभर जोडेर राखेको परिवार उहाँकै अन्तिम बिदाइका लागि एक ठाउँमा जम्मा भयो।
बाबाले विगतमा आफ्नो एउटा इच्छा सुनाउनुभएको थियो । आफ्ना बुबाआमालाई रिडी लगेको सम्झना गर्दै आफूलाई पनि अन्तिम समयमा त्यहीँ लैजानू भन्नुहुन्थ्यो। उहाँको त्यही इच्छा सम्झेर हामीले अन्तिम श्रद्धाञ्जलीका लागि उहाँलाई रिडी लग्यौँ। जीवनभर हामीलाई बाटो देखाउने बाबा अन्तिम यात्रामा भने हामीले बाटो देखाउँदै थियौँ। भदौरे झरीबीच मध्यरातमा उहाँको शरीर आगोको मुस्लोमा खरानी भयो। हामी शिर झुकाएर घर फर्कियौँ।
सबै फर्किए, म भने त्यहीँ रोकिएँ
बाबाको मृत्युको सुरुका पन्ध्र–सोह्र दिन घरमा आफन्तहरूको भीड थियो। दुःखमा साथ दिनेहरू थिए, बाबाका कुरा गरेर सम्झाउनेहरू थिए। त्यसैले अभाव भए पनि एक्लोपन त्यति महसुस भएन। बिस्तारै सबै आ–आफ्नो काममा फर्किए। दाजुहरू व्यवसायमा फर्किए, दिदी आफ्नो काममा लाग्नुभयो, आफन्तहरू घर फर्किए। घर विस्तारै सुनसान भयो। अनि बल्ल बाबाको अभावको वास्तविक गहिराइ महसुस भयो। म बाबाकी कान्छी छोरी। बाबाले मलाई धेरै माया र विश्वास गर्नुहुन्थ्यो। म अफिस जान्छु, आफ्नो काम गर्छु, कसैसँग डराउँदिनँ, आफूलाई आफैँ सम्हाल्न सक्छु भनेर उहाँलाई गर्व थियो। तर बाबा गएपछि थाहा भयो—मलाई बलियो बनाइराख्ने एउटा ठूलो आधार त बाबा नै हुनुहुँदो रहेछ। महिनौँसम्म घरबाट बाहिर निस्कन गाह्रो भयो। त्यही समयमा जेनजी आन्दोलन भयो र मैले काम गरिरहेको कार्यालय पूर्ण रूपमा क्षति भयो। त्यसपछि जागिर पनि छोडेँ। साथीभाइ र आफन्तले सम्झाए। घरबाट बाहिर निस्कनुपर्छ, काममा फर्किनुपर्छ, परीक्षा आउँदैछ, पढाइमा ध्यान दिनुपर्छ भनेर हौसला दिए। तर मनलाई सम्हाल्न सजिलो थिएन। किनकि बाबा मेरा लागि जन्मदिने अभिभावक मात्र हुनुहुन्थेन। उहाँ मेरो सबैभन्दा नजिकको साथी हुनुहुन्थ्यो। सुख–दुःखका कुरा उहाँसँग गर्न सक्थेँ। मनमा लागेको कुरा भन्न सक्थेँ। उहाँ सुन्नुहुन्थ्यो, सम्झाउनुहुन्थ्यो र हौसला दिनुहुन्थ्यो। उहाँसँग कुरा गरेपछि मन हलुका हुन्थ्यो।त्यसैले बाबा गुमाउँदा मैले एउटा अभिभावक मात्र गुमाइनँ। मैले आफ्नो कुरा सुनाउने साथी, निर्णयमा सल्लाह दिने मान्छे र कठिन समयमा भरोसा गर्ने आधार गुमाएँ।
“बाबा हुनुहुन्छ नि” भन्ने ठाउँ खाली भयो
बाबा नहुँदा आफ्नै घरभित्रका धेरै कुरा पनि फरक लाग्न थालेका छन्। दाजुभाइ, दिदीबहिनी, भाउजू, भाइबहिनी सबै आफ्नै हुन्। माया उस्तै छ, सम्बन्ध उस्तै छन्। तर बाबाको अनुपस्थितिले मनको अनुभूति बदलिदिएको छ।कुनै कुरा हुँदा, कसैले झर्किएर बोल्दा पनि मन धेरै दुख्छ। किनकि पहिले एउटा भरोसा थियो “बाबा हुनुहुन्छ नि” उहाँले सम्झाउनुहुन्छ, मिलाउनुहुन्छ र सबैलाई एउटै ठाउँमा राख्नुहुन्छ भन्ने विश्वास थियो। अब त्यो भरोसा छैन। कुनै योजना बनाउँदा बाबाको सल्लाह सम्झिन्छु। कुनै निर्णय लिनुपर्दा उहाँलाई सोध्न मन लाग्छ। खुसीको कुरा हुँदा उहाँलाई सुनाउन मन लाग्छ। दुःख पर्दा उहाँकै साथ खोजिन्छ। तर हरेकपटक एउटै सत्य अगाडि आउँछ—बाबा अब हुनुहुन्न। साच्चिकै पछिल्ला दिनहरुमा को आफना को पराई भनेर चिन्ने मौका पनि मिलेको छ ।
अब आमाका लागि फेरि उठ्नुपर्छ
बाबा नहुँदा सबैभन्दा ठूलो पीडा बोकेर बसिरहनुभएको व्यक्ति आमा हुनुहुन्छ। हामीले बाबा गुमायौँ, तर आमाले जीवनभर साथ दिएको जीवनसाथी गुमाउनुभयो। सुख–दुःखमा साथ दिने, घरको जिम्मेवारी बाँड्ने र हरेक निर्णयमा साथ दिने मान्छे गुमाउनुभयो। त्यसैले अब हामी आफ्नै दुःखमा मात्रै अल्झिएर बस्न मिल्दैन। हामी कमजोर भयौँ भने आमा अझै कमजोर हुनुहुन्छ । हामी भत्कियौँ भने उहाँलाई सम्हाल्ने को हुन्छरु आमाको मनमा बाबाको ठाउँ हामी कसैले लिन सक्दैनौँ। उहाँले गुमाउनुभएको जीवनसाथीको अभाव पनि कसैले पूरा गर्न सक्दैन। तर उहाँलाई “तपाईं एक्लो हुनुहुन्न, हामी छौँ” भन्ने अनुभूति दिन भने सक्छौँ। हिजो बाबाले हाम्रो भविष्यका लागि गर्नुभएको मिहिनेत अब सम्झनामा मात्र राखेर हुँदैन। उहाँले देख्नुभएको सपना पूरा गर्नुपर्छ। आमाको बाँकी जीवन सहज बनाउनुपर्छ। बाबा र आमाले हाम्रो भविष्यका लागि गरेको त्यागको ऋण हामीले आफ्नो जिम्मेवारी र कर्मबाट तिर्नुपर्छ। आज बाबा र आमाको दुवै भूमिका आमाले निभाइरहनुभएको छ। उहाँका लागि हामीले बाँच्नुपर्छ, काम गर्नुपर्छ, हाँस्नुपर्छ र अघि बढ्नुपर्छ।
बाबा बिनाका ती दिन
समयले एक वर्ष पार गर्यो। तर बाबाको सम्झना एक दिन पनि टाढा भएन। अहिले फेरि तीजको रमझम छ। तर त्यही दर खाने दिनको बिहान सम्झिन्छु। चिया र बिस्कुट सम्झिन्छु । सबैभन्दा बढी “सास फेर्न गाह्रो भयो” भन्ने उहाँको अन्तिम आवाज सम्झिन्छु। बाबालाई गुमाउनुको पीडा बिर्सन सकिँदैन । सायद बिर्सनु पनि हुँदैन। किनकि उहाँसँग जोडिएका सम्झनाहरू नै अहिले हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हुन्। त्यसैले अब हामी बाबाको अभावसँगै बाँच्न सिक्दैछौँ । आमाको हात समातेर बाबाले देखाएको बाटोमा हिँड्दैछौँ। उहाँले अधुरो छोड्नुभएको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।
३ सय ६५ दिन बिते, बाबा। समयले हामीलाई तपाईंबिनाको जीवन बाँच्न सिकाउँदैछ, तर तपाईंको अभावसँग सम्झौता गर्न अझै सकेको छैनौँ। तपाईंले जीवनभर हाम्रो भविष्यका लागि गर्नुभएको मिहिनेत, परिवारलाई जोडेर राख्नुभएको माया र हामीलाई सिकाउनुभएको इमानदारी, मेहनत र मानवताको बाटो अब हाम्रो जिम्मेवारी बनेको छ।तपाईंले देख्नुभएको सपना पूरा गर्नेछौँ। आमालाई कहिल्यै एक्लो महसुस हुन दिनेछैनौँ। तपाईंले जोडेर जानुभएको परिवारलाई सधैँ एकतामा राख्ने प्रयास गर्नेछौँ। तपाईंले दिनुभएको संस्कारलाई जीवनको बाटो बनाएर अघि बढ्नु नै तपाईंप्रतिको हाम्रो सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ। बाबा, तपाईं शरीरले हामीमाझ हुनुहुन्न। तर हाम्रो हरेक सम्झनामा, हरेक सफलतामा र हामीले गर्ने हरेक असल काममा सधैँ जीवित रहनुहुनेछ। तपाईंले देखाउनुभएको बाटोबाट कहिल्यै विचलित नहुने प्रणसहित, पहिलो वार्षिक पुण्यतिथिको अवसरमा धेरै सम्झना, माया र श्रद्धासहित—हार्दिक श्रद्धाञ्जली, बाबा।