Butwal Today

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय के के भए ?

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा मंगलबार साँझ बसेको मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२ बमोजिम भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।

बैठकले प्रदेशको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणका लागि थप समय दिने प्रस्ताव बैठकमा पेस भएको थियो। त्यसैगरी, बैठकले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।

बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन। उनले विकास निर्माणका कामलाई गति दिनुका साथै नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन मन्त्रीहरूको भूमिका सक्रिय हुनुपर्ने बताए। मन्त्रालयको जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनसमेत उनले निर्देशन दिएका छन।

सरकारको प्रवक्तामा पुनः घिमिरे

लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई दिइएको छ। मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका घिमिरेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदासमेत घिमिरे नै प्रदेश सरकारको प्रवक्ता थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?