© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले विशेष आर्थिक क्षेत्रबाट उद्योग बाहिरिने तथा नयाँ उद्योग स्थापना गर्दा हुने आर्थिक र भौतिक क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न ठुलो लगानी गर्नुपर्ने भएकाले कुनै कारणले उद्योग सफल हुन नसकेमा भू–बहाल सम्झौता अन्त्य गरी सहज रूपमा बाहिरिन सक्ने कानुनी वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।
अग्रवालले भनिन्, “सम्झौता अन्त्य भएसँगै त्यहाँका भौतिक संरचना व्यवस्थापन गर्ने सिलसिलामा महत्त्वपूर्ण मेसिन लगायतका औजार कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ नयाँ उद्योग स्थापनामा लामो समय र ठुलो रकम खर्च हुने गरेको छ ।”
यस्तो अवस्थामा उद्योगका भौतिक संरचना नभत्काई प्लट लिन इच्छुक नयाँ उद्योगलाई ती संरचना उपलब्ध गराउन सकिने कानुनी व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
यसबाट विशेष आर्थिक क्षेत्र छाड्ने उद्योगले आफ्ना भौतिक संरचना कबाडका रूपमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने र थप आर्थिक भारबाट जोगिन सक्ने उनको भनाइ छ ।
सांसद अग्रवालले नयाँ उद्योगलाई तयार संरचना उपलब्ध गराउँदा संरचना निर्माणमा लाग्ने समय र अतिरिक्त खर्च बचत हुने भएकाले यसतर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बताइन् ।