© 2026
काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले हिंसाका घटना बढिरहेकाले त्यस्तो कानुनी व्यवस्था अपरिहार्य भएको बताएका छन् । साथै, सडक सुरक्षा, महिला तथा बालिकामाथि हुने हिंसा रोकथाम, विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने तथा विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद ऐनबहादुर महरले सवारी चालक तथा साधनको लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपालीलाई अति जरुरी कामका लागि स्वदेश फर्किने व्यवस्था मिलाउन सरकार गम्भीर हुनुपर्ने बताए । सांसद प्रमीलाकुमारी गच्छदारले महिला सुरक्षासम्बन्धी कानुन अविलम्ब सदनमा प्रस्तुत गर्न तथा बालिकाको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरिन् ।
सांसद टीका सङ्ग्रौलाले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भइरहेको बताउँदै सरकार संवेदनशील भएर यसको स्थायी समाधान खोज्नुपर्ने सुझाव दिए ।
सांसद मनिष झाले जनकपुरमा पोखरी अतिक्रमण हटाउने प्रयास जारी रहेको बताउँदै सबै किसिमका अतिक्रमण हटाउनुपर्नेमा जोड दिए ।
सांसदहरू श्रद्धा कुँवर, बालावती शर्मा, सन्तोष राजवंशी, खड्कबहादुर बुढा, शाहजान खातुन, भरतबहादुर खड्का, प्रेमबहादुर बयेक, साजिदा खातुन सिद्धिकी, प्रकाश पाठक, नीनु कुमारी कर्ण, प्रमिला कुलुजु, रविन महतो, हरिमोहन भण्डारी र सोम शर्माले पनि बालिका हत्याको विषयमा निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै अन्य समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।