© 2026
मेक्सिको सिटी । अमेरिकामा लागु औषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन् ।
रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समार्फत पत्र सार्वजनिक गरेका हुन् ।
उनले शुक्रबार मात्रै सिनालोआको नेतृत्व पुनः सम्हालेको घोषणा गरेका थिए । मेक्सिकन अभियोजकहरूले अनुसन्धान अघि बढाएपछि उनी यसअघि मे महिनामा पदबाट अस्थायी रूपमा अलग भएका थिए ।
रोचाको पुनरागमनको घोषणाप्रति राष्ट्रपति क्लाउडिया शेनबाउमले शनिबार असन्तुष्टि जनाएकी छन् । उनले कसैको व्यक्तिगत स्वार्थलाई जनताको हितभन्दा माथि राख्न नहुने बताएकी छन् ।
पत्रकारहरूले रोचाको विषयमा प्रश्न गर्दा शेनबाउमले आफूले उनी पदमा फर्किएको जानकारी सामाजिक सञ्जालमा गरिएको पोस्टबाट मात्रै पाएको बताएकी छन् ।
अमेरिकी न्याय विभागले अप्रिलमा रोचासहित सत्तारूढ मोरेना पार्टीका नौ अधिकारीविरुद्ध अमेरिकामा लागु औषध वितरणका लागि सिनालोआ कार्टेलसँग सहकार्य गरेको आरोप लगाउँदै उनीहरूलाई सुपुर्दगी गर्न माग गरेको थियो ।
बहालवाला मेक्सिकन राजनीतिज्ञविरुद्ध अमेरिकाले सार्वजनिक रूपमा आरोप लगाएको यो पहिलो घटना भएको बताइएको छ ।
रोचाले शुक्रबार आफूले कुनै अपराध नगरेको दाबी गर्दै स्पष्ट विवेकका साथ पदमा फर्किएको बताएका थिए । ७७ वर्षीय रोचा राष्ट्रपति शेनबाउमको सत्तारूढ मोरेना पार्टीसँग आबद्ध छन् र पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका निकट सहयोगी मानिन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु औषध नियन्त्रणका लागि मेक्सिकोलाई थप कडा कदम चाल्न दबाब दिँदै आएका छन् । उनले मेक्सिकोमा लागु औषध तस्करीसँग सम्बन्धित राजनीतिज्ञको प्रभाव रहेको दाबी गर्दै सैन्य सहयोगको प्रस्तावसमेत गरेका छन् । शेनबाउमले भने यस्तो हस्तक्षेप अस्वीकार गर्दै आएकी छन् ।